२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

शैलजा मुटुरोग अस्पताल अब संघीय सरकार मातहत चल्ने

विराटनगर स्थित शैलजा आचार्य मुटुरोग अस्पतालको केही महिना पहिले निरीक्षण गर्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेल लगायत। फाइल तस्बिर/नागरिक

कोशी प्रदेश सरकार मातहतको शैलजा आचार्य मुटुरोग अस्पताल सञ्चालनका लागि संघीय सरकारलाई दिने निर्णय भएको छ। 

आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले कार्यविधि संशोधन गरी शैलजा आचार्य मुटुरोग अस्पताल सञ्चालनका लागि संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दुई वर्षका लागि दिने निर्णय गरेको हो। कोशी प्रदेश सरकार मातहतको उक्त अस्पताल आंशिक रुपमा सञ्चालनमा ल्याइए पनि जनशक्ति, पूर्वाधार अभावलगायतका कारण पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार आजको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा देखिएका र देखिने पहिचानलगायत विभिन्न विषयका समस्या समाधानका लागि तीन सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि गरेको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री राम रानाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी सदस्य रहने गरी वार्ता समिति गठन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए।

समितिको सदस्य सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले सुनसरी स्थित कोसी रिफ्रेसमेन्ट सेन्टर सार्वजनिक निजी साझेदारीमा सञ्चालनका लागि लगानी सम्मेलनमा प्रस्ताव लैजान भौतिक पूर्वाधार मन्त्रालयलाई अनुमति दिने निर्णय पनि गरेको प्रवक्ता भण्डारीले बताए। 

प्रकाशित: २७ मंसिर २०८१ १७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App