प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पुस ३ गते पछि बस्ने गरी स्थगित भएको छ। यसबिचमा चाडबाड तथा संसद् सेवा दिवस लगायतका कारण समितिको बैठक बस्न सक्ने अवस्था नभएपछि समितिको बैठक केही दिन स्थगित भएको हो । मङ्सिर २८ गते संसद् सेवा दिवस, २९ गते शनिवार, ३० गते धान्य पूर्णिमा, उँधौली पर्व, योमरी पुन्टी, पुस १ गते राजा महेन्द्रले ‘कु’ गरेको दिन पनि बैठक नबस्ने भएपछि पुस ३ गतेसम्मका लागि बैठक सारिएको समितिले जनाएको छ ।
समितिको बैठक बिहीबार १२ः१५ बजेका लागि बोलाइएको थियो। बुधवार बसेको बैठकले नै बैठकको समय तय गरेको थियो। बिहीबार पनि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन राखेका सांसदहरूसँग समितिले छलफल गरेको थियो। समितिले मङ्सिर २३, २५, २६ र २७ गरी चार दिनसम्म यस विधेयकमाथि संशोधनकर्तासँग छलफल गरेको छ।
बिहीबार समितिको बैठक १२ः१५ पछि सुरु भएको थियो । तर, बैठकमा उपस्थित हुन भनेर सांसदहरूलाई भने बिहान साढे १० बजे मात्रै जानकारी गराइएको भन्दै आपत्ति पनि जनाएका थिए ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंह, माओवादी सांसदहरू माधवप्रसाद सापकोटा, सुशीला श्रीपाइली लगायतले समिति बैठक बस्नु दुई घण्टा पनि समय नदिएर एसएमएसमार्फत जानकारी पठाइएको भन्दै आफ्नो तयारी नपुगेको बताएका थिए । समिति सभापति रामहरि खतिवडाले भने बुधवार नै सांसदहरूलाई बोलाउने निर्णय भएको बताए । राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ९० जना संशोधनकर्ता सांसदलाई बोलाइएको समिति सचिवालयले जानकारी दिएको थियो तर केही सांसदको मात्र संशोधन प्रस्तावमाथि छलफल भएपछि समितिको बैठक डेढ घण्टा पनि नबसी स्थगित भएको थियो ।
प्रकाशित: २७ मंसिर २०८१ १७:२० बिहीबार