४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

४४ पदका लागि ४०७ को उम्मेदवारी

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुखमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ। आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म कीर्तिपुर निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका तथा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिएकी हुन्। विभिन्न ४४ पदका लागि हुने निर्वाचनमा ४ सय ७ जनाले आइतबार मनोनयन दर्ता गराएका छन्।

त्यसमध्ये कीर्तिपुर नगरपालिका प्रमुखका लागि विभिन्न राजनीतिक दलबाट नौ र ११ जना स्वतन्त्रको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) का सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जन, नेकपा एकीकृत समाजवादीका भानु रिनाल, जनमत पार्टीका केशव श्रेष्ठ, जनता समाजवादी पार्टीबाट दिपक महर्जन, नेपाल समानवादी पार्टीबाट दिलकुमार महर्जन, राप्रपाबाट धुव्र महर्जन र नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जनले उम्मेदवारी दिएका छन्।

त्यस्तै रामकृष्ण महर्जन, राजमान महर्जन, मिम महर्जन, परेशबहादुर महर्जन, नवरथकुमार बानियाँ, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, दिनेशकुमार अधिकारी र कविकुमार महर्जन र आनन्द महर्जनले स्वतन्त्रमा उम्मेदवारी दिएका छन्। कीर्तिपुर नगरपालिका– १ मा नौ र वडा नम्बर ४ मा १३ जनाको उम्मेदवारी परेको छ।

आयोगले आइतबार साँझ उम्मेदवारको सूची प्रकाशन गरेको छ। मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। सो दिन विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ।

निर्वाचन आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुईजना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुषको मनोनयन पत्र दर्ता भएको छ।

यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी ८४ जनाको मनोनयन परेको छ। गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरूष र १ अन्य गरी ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार मनोनयन सबैभन्दा धेरै धनुषाको धनुषाधाम– १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्ष पद र बझाङ सुर्मा गाउँपालिका– ४ को वडाध्यक्ष पदमा ३÷३ जनाको मनोनयन पत्र दर्ता भएको छ।

प्रकाशित: ३ मंसिर २०८१ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App