३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तह उप निर्वाचन: ३८ ठाउँमा निर्वाचन अधिकृतका कार्यालय स्थापना

मंसिर १६ गते हुन लागेको स्थानीय तहको उप निर्वाचनका लागि शुक्रवार ३८ स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । निर्वाचन आयोगका अनुसार ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

यसैबिच सुर्खेत संवाददाता गोविन्द केसीका अनुसार दैलेखको महाबु गाउँपालिकामा हुने अध्यक्ष पदको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले गाउँपालिकाको मुकाम गैडावाजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका छन् ।

दैलेखमै दुल्लु नगरपालिका –१३ को वडा अध्यक्षको निर्वाचन हुँदै छ ।

यस्तै कपिलवस्तु संवाददाता किरणमान बज्राचार्यका अनुसार शुद्धोदन गाउँपालिका– १ मा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाशचन्द्र अधिकारी त्यहाँ मुख्य निर्वाचन अधिकृत छन् । न्यायाधीश अधिकारीले शुक्रवार आफ्नो कार्यालय स्थापना गरेका हुन् । 

कार्यालय स्थापना गर्ने क्रममा उनले निर्वाचन आयोगले जारी गरेका निर्वाचनको कार्यक्रम र आचार संहिता अनुसार अघि बढ्न उनले अपिल गरे । उदघाट पछि उनले जिल्लामा क्रियाशील राजनीतिक दलसँग छलफल पनि गरेका थिए । 

उता उदयपुर संवाददाता महेश्वर चाम्लिङ राईका अनुसार उदयपुरका दुवै रिक्त वडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

जिल्ला निर्वाचन अधिकारी दीपक दाहालका अनुसार दुवै वडा कार्यालयका भवनमै निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । त्रियुगा–१२ मा मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका १ नम्बर न्यायाधीश दीपककुमार खरेल र बेलका–९ को निर्वाचन अधिकृत जिल्ला सरकारी वकिल कार्यालयका महान्यायाधिवक्ता मनोजकुमार गुप्ता तोकिएका छन् । 

यस्तै मोरङ संवाददाता चुमन बस्नेतका अनुसार मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनका लागि गाउँपालिकामै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यहाँ मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई तोकिएको छ । 

मुख्य निर्वाचन अधिकृत भट्टराईले कार्यालय स्थापनापछि सर्वदलीय बैठक राखेको थिए । बैठकमा उनले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न दलहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । त्यस क्रममा राजनीतिक दलले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । 

यसै गरी उप निर्वाचन हुने सबैजसो स्थानीय तहको सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर २ गतेदेखि ५ गतेसम्म ती कार्यालयबाट निर्वाचन कार्यक्रम सञ्चालित हुनेछन् । २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यपालिका छ । 

यस्तै ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

यसपटक देशभरका रिक्त ४२ स्थानीय तहका पदमा उप निर्वाचन हुँदै छ ।

प्रकाशित: ३० कार्तिक २०८१ १८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App