नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ।
सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
उनले उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय भएको बताए। उनले मंसिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै वृहत, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताए।
उनले भने, ‘मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको छ। निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ। उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाएका छौँ।
मंसिर मसान्तसम्म पालिका सम्मेलन र त्यसका साथसाथै कार्तिकको १० गते पालिकास्तरसम्म गर्ने भनेका थियौँ। अब पालिकाको सम्मेलन पनि र खबरदारी सभा पनि एकैसाथ लैजाने र वृहत, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने। पुसको २ गते केन्द्रिय समितिको बैठक बस्ने।’
प्रकाशित: २६ कार्तिक २०८१ ११:५८ सोमबार