२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

गगनको अपिल: फागुन २१ सम्म मेरो भारी बोकिदिनुस्, त्यसपछि म तपाईंहरुको बोक्छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्ष जनताको सेवा गर्नका लागि निर्वाचनको दिनसम्म आफ्नो भारी बोकिदिन मतदातासँग अपिल गरेका छन्।

बिहीबार सर्लाहीको निर्वाचन क्षेत्र नम्बर-४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले देखेको समृद्धिको सपना पूरा गर्न र जनताका समस्या समाधान गर्न शक्ति चाहिएको बताए।

सभापति थापाले भने, ‘मलाई काम गर्नका लागि तागत चाहिएको छ। फागुन २१ गतेसम्म तपाईंहरूले मेरो भारी बोकिदिनुस्, त्यसपछिको ५ वर्ष तपाईंहरूको भारी म बोक्नेछु।’

आफूले विगतमा स्वास्थ्यमन्त्री हुँदा सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने र पैसाको अभावमा कोही पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्ने उनले प्रतिबद्धता जनाए।

‘तपाईंहरूको छोराछोरी कतारमा पसिना बगाएर कमाएको पैसाले घरको एउटा मान्छेको उपचार गर्न पनि नपुग्ने अवस्था छ,’ उनले भने, ‘यसको अन्त्य गर्न र सबैको उपचारको जिम्मा सरकारले लिने बनाउन मलाई काम गर्ने मौका दिनुहोस्।’

काठमाडौंको सुरक्षित क्षेत्र छोडेर सर्लाही आएको प्रसंग कोट्याउँदै उनले आफू यहाँका मतदाताको सुख दुःखको साथी बन्न चाहेको बताए।

‘म यहाँ हात हल्लाएर, फोटो खिचेर र चुनाव जितेपछि बेपत्ता हुने नेता होइन,’ उनले थपे, ‘म तपाईंहरूको घरदैलोको समस्या, शिक्षा, स्वास्थ्य र रोजगारीको भारी बोकेर समाधान खोज्ने प्रतिनिधि बन्न चाहन्छु।’

उनले मतदातासँग आफ्नो सम्बन्ध पर्यटक नेताको जस्तो नभई परिवारको सदस्यजस्तो हुने भन्दै यहाँ संसदीय सम्पर्क कार्यालय खोलेर जनताका गुनासा सुन्ने संयन्त्र बनाउने बाचा समेत गरे।

प्रकाशित: १५ माघ २०८२ १७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App