१८ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

रविलाई छुटाउन सरकारसँग ‘लबिइङ’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्षसहितको टोलीले भेटेर प्रहरी नियन्त्रणमा रहेका रवि लामिछानेलाई हिरासतमुक्त गराउन लबिइङ गरेको छ। एमालेको नेतृत्वमा बनेको सरकार विस्थापित गराउन कांग्रेससँग सम्झौता गर्न खोजेको आरोप लागेको रास्वापाका उपसभापति डोलप्रसाद (डिपी) अर्याल र रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सोमबार साँझ प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमा भेटेर सरकारलाई निःसर्त समर्थन गर्ने भन्दै लामिछानेलाई जसरी पनि हिरासतबाहिर राखिदिन लबिइङ गरेका हुन्।  

उनीहरूले प्रधानमन्त्री ओलीलाई भेट्नुअघि गृहमन्त्री रमेश लेखकलाई समेत भेटेर हिरासतबाहिर राखिदिन आग्रह गरेका थिए ।उनीहरूले सोमबार साँझ लामो समय कुरेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए। सोमबार साँझ ८ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूको पालो भने साढे १० बजेतिर मात्र आएको थियो ।

बालुवाटार स्रोतका अनुसार उनीहरूले सुरुमै अहिलेको अवस्थामा प्रधानमन्त्रीको सहयोग आवश्यक रहेको बताएका थिए। ‘हिजो यहाँहरूले नै संसद्मा महत्वपूर्ण स्थान दिएर सरकारमा लैजानुभएको पार्टीका सभापति हुनुहुन्छ। उहाँको खास गल्ती देखिँदैन। बाहिर राखेर अनुसन्धान गर्ने वातावरण बनाइदिनुपर्‍यो भन्ने रविजीको भनाइ छ। साथै उहाँले अहिलेको सरकारलाई निःसर्त समर्थन गर्ने पनि भन्नुभएको छ। प्रधानमन्त्रीज्यूले यसका लागि वातावरण बनाइदिनुपर्‍यो,’ उपाध्यक्ष अर्यालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सभापतिलाई जसरी पनि बाहिर रहने वातावरण बनाई सहयोग गर्नुभयो भने भोलिका दिनमा यहाँहरूले सोचेअनुसार सहयोग हुनेछ ।’

तर प्रधानमन्त्री ओलीले संसदीय विशेष छानबिन समितिमा रास्वपाकै सांसद पनि रहेको र तिनै सांसदले समेत हस्ताक्षर गरेको प्रतिवेदन कार्यान्वयनमा गएको जबाफ दिएका थिए। उनले ‘यस्तो अवस्था तपाईहरूलाई थाहा हुँदाहुँदै म कसरी प्रतिशोधी भएँ ?’ भनी प्रश्न गरेका थिए। प्रधानमन्त्री ओलीले ‘जुठोमा रहेका बेला कसरी यहाँ आउनुभएको हो त ?’ भनेर अर्को कटाक्षपूर्ण प्रश्नसमेत गरेको स्रोतको भनाइ छ। उनले यतिबेला मुद्दा अदालती प्रक्रियामा प्रवेश गरेका कारण आफूले केही गर्न नसक्ने जबाफसमेत दिएका थिए । ‘अहिले मुद्दा फिर्ता लिने अवस्था पनि छैन। मुद्दा अदालती प्रक्रियामा प्रवेश गरिसकेकाले केही गर्न सकिँदैन।  

कानुनले जे भन्छ, त्यही हुने हो प्रहरी र अदालतलाई प्रभावमा पार्ने अवस्था छैन। तपाईंहरू पनि अदालतलाई प्रभाव पार्ने काम नगर्दा नै राम्रो होला,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। 

रास्वपा उपसभापति अर्याल र सांसद परियारले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेको कुरा प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले पुष्टि गरेका छन्। ‘डिपीजी र सन्तोषजी आउनुभएको थियो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूसँग उहाँहरूले भेटचाहिँ गर्नुभयो तर केके कुरा गर्नुभयो त्यो चाहिँ थाहा भएन ।’ यसैगरी यो विषयमा नागरिकले रास्वपा उपसभापति कुराकानीका लागि अर्यालसँग सम्पर्क गर्न खोज्दा फोन उठेन। रास्वपा सांसद परियारसँग सम्पर्क गर्न खोजिएको थियो तर उनले पछि सम्पर्क गर्ने भन्दै म्यासेज पठाए। पछि उनीसँग सम्पर्क हुनै सकेन ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने त्यसयता प्रहरी हिरासतमा छन्।रविको पक्राउलाई रास्वपाले ‘राजनीतिक प्रतिशोध’का रूपमा अर्थ्याउदै त्यसयता लगातार प्रदर्शन गरिरहेको छ। सुरुका केही दिन पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले अहिले काठमाडौंमा दिनहुँजसो विरोधका कार्यक्रम गरिरहेको छ। सडकमा रास्वपाका नेताहरू प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतामाथि आक्रामक रूपमा बोलिरहेका छन्। कतिपय नेताहरूले हिंस्रक अभिव्यक्तिसमेत दिइरहेका छन्। रास्वपा नेताहरूले आन्दोलन गरिरहँदा सडकबाटै सरकार फाल्नेसम्मका चेतावनी दिइरहेका छन्। रवि स्वयंले पनि पोखरामा ओली सरकार नढल्दासम्म आन्दोलन नछाड्ने चेतावनी दिएका थिए। यसरी एकातिर सरकार र सत्ताधारी दललाई ललकारिरहेको रास्वपाका नेताहरू भित्रभित्रै रविलाई हिरासतमुक्त गरेर अनुसन्धान रोकिदिन हारगुहार गरिरहेका छन्। उपसभापति रविका विश्वासपात्रसमेत भएकाले प्रधानमन्त्रीलाई रविको अनुनय–विनय सुनाउन गएको बताइएको छ।  

रवि पक्राउ पर्दा अघोषित रूपमा रास्वपाको नेतृत्व अर्यालले लिइरहेका छन्। अर्यालले गृहमन्त्री र प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक प्रतिशोध नलिएर रविविरुद्धको अनुसन्धान कमजोर पारिदिन आग्रह गरेका थिए। तर प्रधानमन्त्री र गृहमन्त्रीले कानुन देखाएर उनलाई फर्काएका थिए। रविविरुद्धको अनुसन्धानमा प्रहरी एकपछि अर्को गर्दै अघि बढ्न थाल्दा रास्वपा नेताहरू सरकारसँग डिल नै गर्ने अवस्थामा पुगेका हुन्। रास्वपाले आन्दोलनको नेतृत्व गर्न अर्याल र वार्ता संवादको नेतृव गर्न स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिए पनि अर्याल वाग्लेलाई बेवास्ता गरेर प्रधानमन्त्री र गृहमन्त्री भेट्न आफू पुगेका थिए ।

हाल पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना मुद्दामा अनुसन्धान लागि हिरासतमा लिइएका रविविरुद्ध बुटवलको सुप्रिम सहकारीको प्रकरणमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। यस्तै चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी र वीरगन्जको सानो पाइला सहकारीको बचत रकम हिनामिनामा पनि रविविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ। रवि गोर्खा मिडिया प्रालिका सञ्चालक र प्रबन्ध निर्देशक रहेका बेला यी सबै सहकारीबाट रकम आएको देखिएको छ। यसरी यी सबै सहकारीको अनुसन्धान गर्दा रवि लामो समय हिरासतमा पर्ने स्थिति देखिएपछि रास्वपाका नेताहरू सरकारसँगै लबिङ गरेर अनुसन्धान कमजोर बनाउने प्रयासमा जुटेको स्रोत बताउँछ।  

रास्वपा नेताका यस्ता गतिविधिविरुद्ध सत्तारूढ दल एमालेका नेताहरू भने खरो रूपमा उत्रिएका छन्। एमालेका नेता विष्णु रिजालले त सामाजिक सञ्जालमा एक स्टाटस राखेर रास्वपा नेताका यस्ता गतिविधिले मुद्दा फिर्ता नहुने प्रतिक्रिया दिएका छन्। ‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्नेजस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू रातिराति कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्‍यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?’ रिजालले फेसबुकमा लेखेका छन्, ‘यति हेक्का राखे हुन्छ, राजनीतिमा धैर्य र इमान चाहिन्छ। जे गर्छ, कानुनले गर्छ। डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’

प्रहरीले रवि लामिछानेको विषयमा काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट ऋण लिएर नतिर्नेहरूको पनि अनुसन्धान सुरु गरेको छ। पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जिबी राईलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको अवस्थामा २७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मीबाट रास्वपाका सभापति लामिछानेले पनि दुईपटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको प्रहरी स्रोतले जनाएको छ।  

२०७८ भदौ ४ मा उनीहरूले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘इको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ। ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार रूपैयाँ लिएको तर ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ। त्यस्तै ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार रूपैयाँ नतिरेको अनुसन्धानबाट भेटिएको छ। स्वर्णलक्ष्मीबाट गैरकानुनी रूपमा रवि र जिबीसहितका नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ ।

प्रकाशित: १४ कार्तिक २०८१ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App