१८ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘एकता बिथोल्ने र जथाभाबी बोल्नेलाई उत्तरदायी बनाउँछौं’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार तीनवटा कार्यक्रमलाई सम्बोधन गरेका छन्। बिहान गैरआवासीय नेपाल संघ (एनआरएनए) को वार्षिक साधारणभा रग्लोबल कन्क्लेभको उद्घाटन सत्रमा उनले बोलेका थिए । त्यसपछि एमालेको जनवर्गीय संगठन युवा संघ नेपालको आयोजनामा ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै आफ्ना धारणा राखे। अपराह्न नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा आयोजित ‘राष्ट्रिय सुरक्षा रविकासमा पूर्वसुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचारगोष्ठीलाई पनि उनले सम्बोधन गरे।  

तीनमध्ये दुईवटा कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा देखिएका अवसरवाद र बेइमानीको चर्चा गरेका थिए। सरकारबाट तीन महिनाअघि मात्रै बाहिरिएका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गतिविधितर्फ संकेत गर्दै उनले झुटो र बेइमान कुरा गर्नेहरूलाई उत्तरदायी बनाउने चेतावनी दिए।

रास्वपा सभापति रवि लामिछानेको पक्षमा सडकमा प्रदर्शन गरिरहेकाहरूप्रति लक्षित गर्दै उनले सरकारविरुद्ध घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका भाषण गर्ने र जथाभाबी बोल्नेलगायतलाई उत्तरदायी बनाउने  बताएका हुन्।  

प्रधानमन्त्री ओलीले ‘हतियारबिसाएका मात्रै हौं’ भनेर कुनै पक्षबाट पनि धम्की आउन नहुने भन्दै टिप्पणी गरे। शनिबार राजधानीमा आयोजित विरोधसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले हतियारको धम्की नदिन सुझाव दिए। उनले आफूलाई हतियार चलाउन नआए पनि कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका थाहा भएको पनि बताएका थिए ।

एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धम्कीका भरमा खान नहुने बताए। ‘हिजो एक जना उफ्रीउफ्री भाषण गर्दै थिए। हिजो मात्रै देख्याथें। हतियार बिसाएको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्सेको छैन भन्दै थिए। त्यस्तै त्यस्तै त हामी हुनुभएन नि, धम्क्याएका भरमा खाने,’ प्रधानमन्त्री ओलीले दाहालको नाम नलिई भने ।

त्यस्तै एमालेनिकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्वसुरक्षाकर्मीहरूको भूमिका विषयक विचारगोष्ठीमा बोल्दै उनले सरकार कमजोर नरहेकाले समाजमा अराजकता मच्चाउन खोज्नेहरूलाई उत्तरदायी बनाउने बताए। गलत सूचना दिएर मुलुकमा भ्रम फैलाउनेहरूलाई तह लगाउने हैसियतमा आफू नेतृत्वको सरकार रहेको उनको भनाइ थियो। ‘घृणा फैलाउने कार्य, राष्ट्रिय एकता बिथोल्ने खालका अभिव्यक्ति, जथाभाबी बोली, अश्लीलता, छाडापन, असामाजिकता, झुट, बेइमानी जस्ता कुराहरूप्रति हरेक व्यक्तिलाई उत्तरदायी बनाउने बाटो अब सरकारले लिन्छ। यस्तो अराजकता सधैं यसैगरी चल्न सक्दैन। यस्ता काम रोक्न सक्ने सरकार हो यो। त्यसकारण यो कुरामा म सबै साथीलाई स्पष्ट रहन आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने। मुलुकका आन्तरिक सुरक्षा कमजोर अवस्थामा पुगेकाले त्यसलाई बलियो बनाउन सरकार लागिपर्ने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरू कसैद्वारा परिचालित भएको दाबी पनि गरे। उनले एमालेको साख माटोमा मिलेको भन्नेहरूलाई २०८४ सालको निर्वाचन पर्खिन आग्रह गरे। एमालेको साख नघटेको र आफूहरूले नै राष्ट्रिय राजनीतिलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर विपक्षी दलहरूले जनतामा भ्रम छर्ने कोसिस गरिरहेको पनि बताएका थिए ।

आइतबारको दोस्रो चरणको कार्यक्रममा पनि ओलीले समाजलाई असभ्य बनाउने समूह उद्यत रहेको बताएका थिए। ‘आर्टिफिसियल इन्टेलिजेन्सले धेरै ठुलो मद्दत पुर्‍याएको छ। विकासका लागि ठुलो सहयोग गरेको छ। यसले समाजमा मिसइन्फरमेसन, डिसइन्फरमेसन जस्ता कुराहरू पनि फैलाउँदा द्वेष रकलह भएको छ। यसको मिसयुजको सम्भावना छ। यसबाट समाज अझ सभ्य, व्यवस्थित, उन्नत हुनुको सट्टा कतिपय ठाउँमा विकृत र विसंगत पक्ष बढेको देखिन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले अगाडि थपे, ‘यसको समाधानका लागि राम्रो पक्षको विकास गर्ने र राम्रो पक्षलाई बढाउने कुरामा लाग्नुपर्छ ।’ एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैलाउने कामको भने कडा निगरानी हुनु जरुरी रहेको उनको भनाइ थियो।  

प्रधानमन्त्री ओलीले एआईका गलत पक्षलाई छाडेर राम्रा पक्षहरू ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याए। जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्ने उनको भनाइ थियो। ‘एआईको दुरूपयोग भएको देख्छु। 

मैले गाएको गीत, म नाचेको भिडियो हेर्छु। मलाई गीत त गाउन आउँदैन। एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ। यो मै हेरिरहेको छु। एआईलाई यसरी मिसयुज गर्नुहुँदैन। डिजिटल नेपाल भनेको यो खाली मोबाइलमा मात्रै काम हुन्छ भन्ने कुरा त होइन। हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ। घरमा जाँदा पनि अनलक गर्न सकिन्छ,’ उनले भने, ‘अफिसमा हाजिरगर्दा मान्छे चिन्छ।अनुहार चिन्छ। 

जीवनलाई सरल र सहज बनाउनुपर्छ। देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ। यसका केही खतराका पक्षहरू देख्दा देख्दै पनि राम्रा पक्षको प्रयोग गर्नुपर्छ। विकासका लागि हामीले डिजिटल नेपालको कन्सेप्ट अघि सारेको हो। एआईको स्ट्राटेजी प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा हामी छौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित: १२ कार्तिक २०८१ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App