४ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

रवि पक्राउ परेसँगै समर्थन र विरोधमा उत्रियो पोखरा

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेसँगै पोखराको माहोल एकाएक तातेको छ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको सुर्यदर्शन सहित विभिन्न ६ वटा सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोपमा शुक्रबार काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो।

रविलाई पोखरा ल्याएसँगै पोखरामा उनको समर्थन र विरोध भइरहेको छ। रविको पक्राउको समर्थन गर्दै सहकारी पीडितहरूले थप दबाब सिर्जना गरिरहेका छन् भने रास्वपा कार्यकर्ताले रविको समर्थनमा दिनभरि नै नाराबाजी तथा कोणसभा लगायतका कार्यक्रम गरे।

काठमाडौंमा पक्राउ परेका रविलाई शनिबार बिहान पौने चार बजे पोखरास्थित जिल्ला प्रहरी कार्यालय प्रवेश गराउने क्रममा रविको पक्षमा रास्वपा कार्यकर्ताले हुटिङ गरे। उनीहरुले सरकारले प्रतिशोध साँधेको भन्दै सरकारको विरोधमासमेत नाराबाजी गरे।

दिउँसो भने रास्वपाले पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा कोणसभा गर्नुका साथै महेन्द्रपुल (भीमसेनचोक), पालिखेचोक हुँदै जिल्ला प्रहरी कार्यालय अगाडि गएर धर्ना दिँदै नाराबाजीसमेत गरे। सो क्रममा उनीहरुले ‘रविदाई हाईहाई’, नडराऊ रविदाई, तिम्रो साथमा हामी छौं’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, रविलाई न्याय दे’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायतका प्लेकार्ड बोक्नुका साथै नाराहरु लगाएका थिए।

कोण सभालाई सम्बोधन गर्दै रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले रविलाई अन्यायपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै विरोध जनाए। सहकारी प्रकरणमा प्रत्यक्ष मुछिएका प्रतिवादीहरुलाई नसमातेर सरकारले संसदीय छानबिन समितिले क्लिन चिट दिएको रविलाई समातेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए।  

उनले भने,‘सहकारी ठगीमा प्रत्यक्ष जोडिएकालाई समाउन हतार छैन, पीडित बचतकर्तालाई बचत रकम फिर्ता गर्न सक्दैन, तर संसदीय छानबिन समितिले दोषी नदेखेर क्लिनचिट दिएको व्यक्तिलाई समातेर हतकडी लगाउँछ यो सरकार।’

रास्वपा उप–सभापति स्वर्णिम वाग्लेले ओली सरकारको कुशासन, भ्रष्टाचार र अक्षमता लुकाउन रविलाई समातेको आरोप लगाए। रविको सेखी झार्न र नयाँ पार्टी रास्वपालाई सक्ने उद्देश्यले ओली सरकारले रविलाई समातेको भन्दै उनले भने,‘देश बाढीपीडितको चपेटामा छ, पीडितले खान, लाउन पाएको छैन। नालायक सरकार निरीह बनेर रमिते भएको छ। अनि एउटा व्यक्तिलाई फसाउन सरकारसहित पूरै राज्य संयन्त्र परिचालित गरिएको छ।’

संसदीय छानबिन समितिले क्लिन चिट दिएको रविलाई समात्ने सरकारले कांग्रेस सांसद धनराज गुरुङ, एमाले नेता ऋषिकेश पोखरेल लगायतलाई भने कहिले समात्छ भनेर प्रश्नसमेत गरे।

रास्वपा सांसद तोशिमा कार्कीले वर्तमान सरकारलाई बिचौलियाको सरकार भएको टिप्पणी गरिन्। वर्तमान सरकारलाई नालायक सरकारको संज्ञा दिँदै उनले भनिन्,‘सरकारको ध्यान बाढीपीडितलाई राहत उपलब्ध गराउनेमा छ कि व्यक्ति फसाउनेमा ? सुशासन र समृद्धिमा छ कि कुशासन र निर्दोष मान्छे फसाउनेमा ?’ सरकारले फसाउन खोजेपनि न्यायालयप्रति आशा र भरोसा रहेको भन्दै उनले भनिन,‘सरकार बिचौलियाले चलाए पनि न्यायालय नचलाओस्। निर्दोष रविलाई न्याय देओस्।’

रास्वपा गण्डकी प्रदेश प्रमुख राजन गौतमले २०८४ को चुनावमा ठूला पार्टीहरू पत्तासाफ हुने डरले रविलाई फसाउनका लागि पक्राउ गरिएको बताए।

रविलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनले भने,‘रविमाथि अन्याय भएको छ। अन्यायविरुद्ध सम्पूर्ण नेपाली लडौं।’

रविलाई पक्राउ गरेर ल्याएसँगै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। चोकचोकमा प्रहरी तैनाथ राखिएको छ भने कार्यक्रम स्थल र जिप्रका अगाडि बाक्लो मात्रामा प्रहरी खटाइएको छ। सधैँ निर्बाध रुपमा प्रवेश गर्न पाइने जिल्ला प्रहरी कार्यालयमा आकस्मिकबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ।

उसो त सहकारी पीडितहरूले पनि शुक्रबार प्रदर्शन गर्ने तयारी गरेका थिए। रविलाई पक्राउ गरेको समर्थन गर्दै आफ्नो अपचलन भएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्ने तयारी गरिए पनि प्रशासनको आग्रहमा स्थगित गरेको थियो।

जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आफूहरूलाई तत्काल कुनैपनि कार्यक्रम नराख्न आग्रह गरेकाले कार्यक्रम स्थगित गरिएको सहकारी पीडित सङ्घर्ष समितिका सह–संयोजक सूर्य पोखरेलले जानकारी दिए।  

सिडिओको भनाई उद्धृत गर्दै उनले भने, ‘हामी तपाईं पीडितको पक्षमै छौं, तपाईंहरुले विथोलिनेगरी कार्यक्रम र प्रदर्शन नगरिदिनुस्।’ सो आग्रहपछि आफूहरुले केही दिनका लागि पर्ख र हेरको अवस्थामा बस्ने निर्णय गरेको उनले बताए। ‘अनुसन्धान कसरी अगाडि बढ्छ, त्यही अनुसार हामी अगाडि बढ्छौं।’

रविको आग्रह: मलाई सामान्य व्यवहार गरियोस्

यसैबीच, सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले आफूलाई सामान्य व्यवहार गर्न प्रहरीलाई आग्रह गरेका छन्।

अनुसन्धानका लागि काठमाडौंबाट पोखरा ल्याइएपछि उनले कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयालाई उनले आफूलाई भिआइपीको सुविधा र त्यस अनुसारको व्यवहार नगर्न आग्रह गरेको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए।

रविलाई उद्धृत गर्दै उनले भने,‘मलाई सामान्य व्यवहार गरियोस्, अरूले जे खान्छन् त्यही दिइयोस्, अरुवलाई जस्तो व्यवहार हुन्छ त्यस्तै व्यवहार गरियोस्, मलाई भिआइपीको सुविधा चाहिँदैन।पक्राउ परेका रविलाई भेट्न उनकी श्रीमती निकिता पौडेलपनि पोखरा आएकी छिन्। शुक्रबार राती नै पोखरा आएकी उनले शनिबार दिउँसो जिप्रका गएर रविको अवस्थाबारे जानकारी लिएकी हुन्।  

सहकारी पीडित भन्छन्: रविलाई समातेपछि न्याय पाएको अनुभूति भयो

यसैबीच, सहकारी पीडितले रविलाई समातेपछि आफूहरूलाई न्याय पाएको अनुभूति भएको बताएका छन्। सहकारी पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीको रकम अपचलन गर्ने मध्येका एक रवि लामिछानेलाई पक्राउ गरेपछि आफूहरूले न्यायको अनुभूति गरेको बताए। 

उनले भने, ‘भर्खरै पैसा नपाइएला तर न्याय पाइन्छ कि भन्ने आशा पलाएको छ।’ उनले आफूहरुको अपचलन भएको रकम फिर्ता गरे मुद्दा फिर्ता गर्न तयार रहेको बताउँदै भने,‘हाम्रो अपचलन भएको रकम फिर्ता हुनुपर्‍यो। हामीले बचत रकम पाउनु पर्‍यो। त्यसपछि हामी पनि मुद्दा फिर्ता गरौंला। त्यसपछिको कारबाही कानुनले के भन्छ त्यही अनुसार होस्।’

अर्का सहकारी पीडित तथा सहकारी पीडित सङ्घर्ष समितिका सहसंयोजक सूर्य पोखरेलले रविलाई समातेपछि आफूहरुको रकम खातामै आएजस्तो सन्तोष मिलेको बताए। उनले भने,‘रविलाई पक्राउ मात्र गर्दा पनि आफ्नो बैंक खातामै पैसा आएजस्तो भएको छ। कम्तीमा न्याय पाएको अनुभूति भएको छ।’

अर्का पीडित तथा सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पनि रविको पक्राउमा सहकारी पीडितहरू खुसी भएको बताए। त्यसले न्यायको अनुभूति भएको छ, अबचाहिँ रकम फिर्ता भएर न्याय पाउने आशा पलाएको छ।’

प्रकाशित: ३ कार्तिक २०८१ १७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App