प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आत्मनिर्भर बन्न आफ्नै बलबुतामा केही गर्न खोजिरहेको बताएका छन् । बुधवार खोटाङबाट आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले विपत्पछिको पुनः निर्माण सरकार आफ्नै प्रयासमा काम गर्न खोजी रहेको बताएका हुन् ।
‘हामी अलि धेरै आफ्नै बलबुतामा गर्न खोजी राख्या छौँ,’ प्रधानमन्त्री ओलीले भने,‘अरूसँग.. वचन लाउँछन् क्या ! सहयोग गर न अलिअलि भन्यो भने सहयोग त गर्छन् तर, त्यो भन्दा बढी बचन लाउँछन् । अलि हामी आत्मनिर्भर हुनतर्फ पनि कोसिस गर्नुपर्यो ।’
अहिलेको समयमा अरूबाट सहायता नलिए पनि धर भने नरहेको प्रधानमन्त्री ओलीले बताए । ‘अहिले भर्खरै बेल ब्रिजहरू बनाउनुपर्यो, बाहिरबाट नमागी भएन,’ उनले भने । नेपाल आफैसँग बेल ब्रिजको सामग्री नभएकाले नमागी नहुने स्थिति बनेको उनले बताए ।
नेपालजस्तो देशमा बेल ब्रिज आफै बनाउन सक्ने स्थिति हुनुपर्नेमा त्यसो नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले अगाडि भने,‘अहिले भर्खर हामी फलाम खानी उत्खनन गर्दैछौं । फलाम खानी उत्खनन भएपछि बेल ब्रिज बनाएर स्टकमा राख्ने, आकस्मिक रूपमा पर्दा खेरी । झोलुङ्गे पुल बनाउँदा आफ्नै सामग्री प्रयोग गर्ने । घर बनाउँदा आफ्नै फलाम, स्टिल आदीको प्रयोग गर्ने । यो काम बल्ल एक दुई तीन वर्षपछि हामीकहाँ सुरु हुन्छ ।’ तबसम्म बाहिरकै भर पर्नुपर्ने उनले बताए ।
सरकारको बजेट एकदमै न्यून रहेकाले सबै कुरा व्यवस्थापन गरेर जानुपर्ने अवस्था रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।
प्रकाशित: ३० आश्विन २०८१ १४:५६ बुधबार