१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्री भन्छन्: विपद् प्रतिकार्यमा संयन्त्र सक्रिय, उपत्यकामा ७५० को उद्धार

फाइल फोटो

गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, डुबान र पहिरोमा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागेको बताएका छन् । शनिवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

गृहमन्त्री लेखकले काठमाडौंं उपत्यकामा मात्रै बिहानसम्म साढे सात सय भन्दा बढी नागरिकको उद्धार गरिएको जानकारी दिए ।

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ,’ उनले भने ।

मुलुकमा ठुलो विपद्को स्थितकीमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए । उनले भने, ‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । उद्धार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।’ 

यस्तै वर्षाका कारण अवरुद्ध सडक खुलाउन, विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन गर्न, विस्थापितलाई पुनः स्थापनाका लागि आवश्यक काम गर्न निर्देशन दिइएको पनि उनले बताए । यस्तै गृहमन्त्री लेखकले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए ।  ‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाई उद्धारमा समेत समस्या भइरहेको छ,’ उनले भने, ‘स्थलगत रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्धार गर्ने गरी सुरक्षा निकाय परिचालन भएको छ ।’

प्रकाशित: १२ आश्विन २०८१ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App