१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नैनसिंह महरको ठहरः कांग्रेसमा विचार र आचरणको बहस जरुरी भइसक्यो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा विचार र आचरणको बहस गर्न जरुरी बेला भइसकेको बताएका छन्।  

१११ औं बिपी जयन्तीका अवसरमा कांग्रेस सुर्खेतद्वारा आयोजित ‘बिपी चिन्तन र वर्तमान राजनीति’ विषयक विमर्शमा उनले यस्तो बताएका हुन्।

‘अब वडावडासम्म विचार र आचरणको बहस चलाउनुपर्ने टट्कारो आवश्यकता परिसकेको छ,’ नेता महरले भने,‘पार्टीलाई बलियो बनाउन सबै वडामा सांगठनिक अभियानमा चलाउने निर्णय भएको छ। यो अभियानमा विचार र आचरणको बहस पनि गर्नुपर्छ।’ भदौ १६ गतेको केन्द्रीय समिति बैठकले १०० दिने सांगठनिक अभियान चलाउने निर्णय गरेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नुपर्ने पनि उनले बताए।

प्रमुख दलहरू सैद्धान्तिक रूपमा फरक भएपनि व्यवहारमा एउटै भएको आरोप लागिरहेकाले कांग्रेस अरुभन्दा भिन्न छ भन्ने देखाउन पनि अपरिहार्य बनेको नेता महरले बताए। उनले भने, ‘असोज १ बाट सुरु भएर पुस १० गतेसम्म सय दिन चल्ने अभियानमा विचार र व्यवहारमा हामी फरक हौं भनेर जानुपर्छ।’

बिपी कोइरालाले कांग्रेसलाई अन्य पार्टीभन्दा विचार र व्यवहारले नै फरक देखाएको भन्दै आज पनि कांग्रेसमा त्यस्तै फरक देखिने कांग्रेस चाहिएको नेता महरले बताए। ‘पछिल्लो समय पार्टीमा विचारको बहस हराएको छ।

पार्टीको प्रमुख लक्ष्य सत्ताभन्दा पनि जनता हो। त्यसैले जनतामुखी विचार र दृष्टिकोण राखेर अगाडि बढिरहेका छौं कि छैनौं भन्ने प्रश्न आत्मबोध गरेर जनतासामू प्रस्तुत हुनुपर्छ,’ उनले भने।

प्रकाशित: २४ भाद्र २०८१ १७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App