१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

निष्ठाको राजनीति गर्न नेताहरुलाई राष्ट्रपतिको सुझाव

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताएका छन्।

बीपी ट्रस्टद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘ऐतिहासिक र गर्व गर्न लायक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ। सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन। तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ।’

उनले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको भन्दै तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको बताए। उनले सिद्धान्तमा सम्झौंता गरेको भए बीपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउदै वीपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गरे।

उनले भने, ‘सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बीपीका विशेषता हुन् जुन हाम्रा लागि सँधै प्रेरणाका रुपमा रहिरहनेछ।’

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बीपीले अघि सार्नुभएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आर्दश राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे।

उनले भने,‘उत्पादनमा बृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरण र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवादको सिद्धान्तको माध्यमबाटै १५ बर्षभित्रै सबै नेपाली परिवारलाई मध्यम वर्गीय हैसियतको बनाउन सकिने बीपीको व्यवहारिक र स्पष्ट ठोस दृष्टिकोण थियो। बीपीको त्यो दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्ने मलाई लाग्दछ।’  

प्रकाशित: २४ भाद्र २०८१ १७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App