१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सांसद केसी जेल नै नबसी रिहा

किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन्।

सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालले जानकारी दिए।

उनले सोमबार फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन्।

रिजालले भने, 'उहाँले कानुन अनुसार नै धरौटी बुझाएर छुट्नु भएको हो। ३६५ दिनमा एक दिन जेल बस्नुभयो। ३६४ दिनको १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा हुनु भएको हो।'

आइतबार पूर्वी रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसीलाई कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो।

आइतबार नै पूर्वी रूकुम जिल्ला अदालतले सांसद केसीलाई रुकुम पश्चिम कारागार पठाइएको भएपनि सोमबार दिउँसोसम्म केसीलाई कारागार पुर्‍याइएको थिएन।

साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो।अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।

प्रकाशित: २४ भाद्र २०८१ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App