२६ भाद्र २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्माणाधीन संसद् भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैन: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्ने गरी काम हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

बिहीबार निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउन सके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे।

उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद् भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे। निर्माणका लागि कुनै जटिलताहरू भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गरे।  

उनले भने, ‘अब छिटो सक्काएर हामीले हाम्रो संसद्का कामहरु यो भवनबाट छिटो क्लियर गर्न पाए हुन्थ्यो भन्ने तीव्र इच्छा छ। ह्याबी कामहरु रहेको र प्रतिकुलताहरु धेरै भएकाले निर्माणको जिम्मा पाएको टिमले यो कामहरु गर्न गाह्रो भइरहेको छ। अझै डेढ वर्ष भन्दा अगाडि यहाँ कार्यक्रम गर्न नसक्ने देखिन्छ। कसरी छिटो गर्न सकिन्छ, यसमा सबैको साथ र सहयोग खासगरी उत्साहजनक वातावरण बनाएर जानुपर्छ।’

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्याङ्कन ८१ प्रतिशत रहेको जानकारी दिए।

उनले भवनहरुमा छानाको काम सबै सम्पन्न भइसकेको सुनाए। इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढिरहेको उनको भनाइ थियो। १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको उनले सुनाए।

महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म सुरु नभएको बताए। निर्माण कार्य निर्धारित समयमै सक्ने गरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको उनले प्रष्ट पारे।

प्रकाशित: २० भाद्र २०८१ १९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App