३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

बयानबीच नै लामिछानेले भेटे ओली र देउवा

सहकारीको बचत ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेको खुलेको छ । केही दिनअघि लामिछानेले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापतिन देउवासँग छुट्टाछुट्टै भेटेर सहकारी ठगी प्रकरणमा कुराकानी गरेका हुन्।  

सहकारीको रकम ठगी गरेको आरोप लागेका लामिछानले भदौ ७ गते संसदीय विशेष समितिमा पुगेर नौ घण्टा बयान दिएका थिए। त्यसको तीन दिनपछि कास्की प्रहरीले काठमाडौंमै आएर लामिछानेसँग बयान लिएको थियो। समिति र प्रहरी दुवैमा बयान दिएपछि पूर्ववर्ती सरकारमा गृहमन्त्रीसमेत रहेका लामिछानेले ओली र देउवालाई भेटेर आफ्ना कुरा राखेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्री ओली र लामिछानेबीच भेटघाट भएको पुष्टि गरेका छन्। ‘भेटघाट भएको हो, कुराकानी के भयो त्यो विषय मलाई जानकारी भएन,’ बजागाईंले भने। कास्की प्रहरीले बयान लिनुअघि लामिछानेले चितवन पुगेर सरकारप्रति ठुलै आक्रोश पोखेका थिए। प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको कार्यालयमा खानतलासी गरी लामिछानेलाई बयानका लागि फोन गरेपछि उनले आफूलाई थुनेर देखाउन चुनौती दिएका थिए। 

‘सक्छौं तिमीहरूले मलाई थुन, हतकडी लगाऊ, सकेनौं भने म तिमीहरूलाई छाड्नेछैन, अल भर्सेस वान, सबै भर्सेस रास्वपा’, संसदीय विशेष छानबिन समितिमा ९ घण्टा बयान दिएर चितवन पुगेका लामिछानेले भनेका थिए। चितवनबाट फर्केर काठमाडौं आएपछि कास्की प्रहरीले भदौ १० गते लामिछानेसँग बयान लिएको थियो । उनले प्रहरीलाई मौखिक बयान दिएका छन्। प्रहरी र रास्वपाले बयानलाई गोप्य राखे पनि केही दिनपछि यो सञ्चारमाध्यममा आयो।

प्रहरीलाई बयान दिएको कुरा सार्वजनिक नहुँदै उनले ओली र देउवासँग भेटघाट गरेका हुन् । ‘भेटघाटलाई अन्यत्र मोड्न भएन, विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीलाई भेट्नु स्वाभाविक हो, जोसुकै व्यक्तिले भेटघाट गर्न सक्छन्, कुराकानी गर्न सक्छन्। रवि लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्नेबित्तिकै संसदीय विशेष समितिमा दिएको बयान र सहकारी ठगीका विषयमा कुराकानी भयो भन्नु उपयुक्त होइन। भेटघाटलाई त्यतातिर जोड्न मिल्दैन’, प्रधानमन्त्रीका प्रेस संयोजक बजागाईंले भने।

एमालेसँगको सहकार्यमा गृहमन्त्री भएका लामिछानेले पछि कांग्रेस र एमालेबीच सहकार्य भएपछि त्यसलाई ‘अपवित्र’ साँठगाँठको संज्ञा दिएका थिए । संसदीय विशेष छानबिन समितिमा बयान दिएर बाहिर निस्केपछि पनि लामिछानेले कांग्रेस र एमाले दुवै दलका नेताहरूको आलोचना गरेका थिए। लामिछानेले बाहिर आलोचना गर्ने र भित्रमित्रै आफूलाई जोगाइदिन ओली देउवासँग हारगुहार गरेको स्रोतको दाबी छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवानिकट एक नेताका अनुसार लामिछानेले आफूले कुनै पनि गल्ती नगरेको भेटमा बताएका थिए।

कास्की प्रहरीलाई बयान दिएपछि आत्तिएका लामिछानेले अनुसन्धान प्रभावित पार्न ओली र देउवालाई भेटेको आशंका गरिएको छ। ‘उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दुवैसँग भेटघाट गरेको सूचना पाएका छौं । यो भेटघाटले हाम्रो अनुसन्धान प्रभावित हुँदैन’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य लामिछाने, रास्वपा सहमहामन्त्री विपीन आचार्य र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिएको थियो। 

लामिछानेविरुद्ध २०८० माघ २२ गते कास्की प्रहरीमा परेको जाहेरीका आधारमा प्रहरीले उनीसँग बयान लिएको हो। त्यसपछि अत्तालिएका उनले ओली र देउवालाई भेटेको स्रोतको दाबी छ। पोखरास्थित सूर्यदर्शन सहकारीमा बचत रकम तत्कालीन अवस्थामा लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा पनि ऋण प्रवाह भएको पाइएपछि बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए।

प्रहरीले उनी सरकारमा हुँदासम्म अनुसन्धान अघि बढाउन सकेन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कागजात झिकाएर अनुसन्धान गरिरहेका बेला गृहमन्त्री भएका लामिछानेले सिआइबी प्रमुख किरण बज्राचार्य र सहकारी ठगी अनुसन्धानमा खटिएको टिमलाई नै सरुवा गरिदिएका थिए। सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताले राखेको रकम हिनामिना गरिएको उजुरी कास्की प्रहरीमा परेको छ। पीडितले गत माघमा रास्वपा सभापतिसमेत रहेका लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहितको नामै तोकेर प्रहरीमा जाहेरी दिएका थिए। 

गितेन्द्रबाबु (जिबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेका बखत सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्क प्रालिमा पाँच करोड ५८ लाख ९ हजार रूपैयाँ प्रवाह भएको तथ्य प्रहरीले प्रारम्भिक अनुसन्धानमा फेलापारेको छ। सिआइबीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको हकमा चेकमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको ५० लाख र नगदै लिएको ५० लाखसमेत गरी एक करोड रूपैयाँको वार्षिक ब्याजदर १४.७५ का दरले ऋण लिएको उल्लेख छ। सोही प्रतिवेदनमा लामिछानेले ऋण, ब्याज तथा सेवा शुल्कसमेत गरी १ करोड ३० लाख ८८ हजार ७ सय ३६ रूपैयाँ १६ पैसा गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा स्वामित्व हस्तान्तरण गरेको देखिएको उल्लेख छ।

यो विषयमा सिआइबीले थप अनुसन्धान गरिरहेका बेला लामिछाने गृहमन्त्री भएका थिए। ‘प्रहरीले यो विषयमा अनुसन्धान गर्दैछ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने। त्यस्तै बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७८ असार २२ मा कुमार रम्तेलको नाममा एक करोड ९० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकमा भएको खातामा एक करोड तीन लाख ३६ हजार जम्मा गरी बाँकी लामिछानेको खातामा ऋण फस्र्योट देखाएर कुमार रम्तेलकै नाममा ऋण कायम गरेको छानबिनबाट पाइएको छ।

यसैगरी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट भूपेन्द्रबाबु राईका नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा सिद्धार्थ बैंकमा भएको खातामा २०७७ असोज ११ मा एक करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आइएमई बैंकमा भएको खातामा २०७८ वैशाख ५ मा एक करोड, २०७८ वैशाख ९ मा ३० लाख र २०७८ असार ४ मा एक करोड गरी तीन करोड ३० लाख रूपैयाँ जम्मा भएको छानबिनबाट पाइएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ माघ २९ मा छविलाल जोशीका नाममा २ करोड ५० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा ग्लोबल आइएमई बैंकमा भएको खातामा दुई करोड ४५ लाख रूपैयाँ जम्मा भएको पनि पाइएको छ। यस विषयमा संसदीय विशेष समितिले प्रश्न गर्दा लामिछानेले यस्तो काममा आफू संलग्न नभएको दाबी गर्दै जिबी राईलाई थाहा होला भनेका थिए।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा पेस्की जनाई २०७८ जेठ ३ मा ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र २०७८ असार ९ मा पनि ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा प्रवाह भएको देखिएको छ । त्यतिबेला पनि लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक थिए। 

२०७८ असार ३१ मा लामिछानेकै नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेको पाइएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा लामिछानेको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण एक करोड रूपैयाँको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४ लाख ७५ हजार र दोस्रो वर्षको ब्याज रु. १६ लाख १३ हजार ७३० समेत गरी एक करोड ३० लाख ८९ हजार रूपैयाँ २०८० असार १३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी ऋण कायम गरिएको थियो ।

२०७८ असार ३१ मा सुप्रिम सहकारीबाट पुलेसो कर्जामार्फत लामिछानेका नाममा १ करोड रकम निकासा गरिएको पाइएको छ। यी सबै विवरणमा आफ्नो संलग्नता नरहेको दाबी लामिछानेले संसदीय विशेष समितिसँग गरेका छन्। रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्ककमा तत्कालीन समयमा क्रिएटिभ डाइरेक्टर थिए। 

उनका नाममा पनि २०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड रूपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ। ग्यालेक्सी टेलिभिजनका पूर्वसंस्थापक एवं पूर्वडिआइजी जोशीसँग पनि प्रहरीले बयान लिएको छ। जोशी पनि ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता अर्थात् जिबी (गितेन्द्रबाबु) राईका साझेदार थिए। पछि उनी गोर्खा मिडियाबाट बाहिरिएका थिए।  

प्रकाशित: १९ भाद्र २०८१ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App