आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिका तामाङलाई प्रहरीले अभद्र व्यवहारको आरोपमा पक्राउ गरेको छ।
बुधबार दिउँसो प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दर्ता गराएको थियो।
पशुपति क्षेत्र विकास कोषले कर्मचारीमाथि गालीगलौज र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि तामाङमाथि अनुसन्धान सुरु भएको थियो। उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, तामाङले कोष परिसरभित्र कर्मचारीसँग विवाद गरेको मात्र नभई, महिला प्रहरीमाथि दुर्व्यवहार र धकेलाधकेल गरेको आरोपसमेत छ। उक्त घटना सम्बन्धी भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो।
प्रहरी वृत्त स्वयम्भूले तामाङलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको छ। तामाङले सामाजिक अभियन्ताको रूपमा विभिन्न विषयमा सक्रियता देखाउँदै फेसबुक लगायतका प्लेटफर्महरूमा भिडिओ पोस्ट गर्दै आएकी छन्।
प्रकाशित: २ माघ २०८१ १५:३५ बुधबार