३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवासमक्ष विश्वप्रकाशको प्रस्तावः अब प्रधानमन्त्री त्याग गरेर राजनेता बन्नुस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबनेर त्याग गर्न सुझाव दिएका छन्।

आइतबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन्।

‘एमाले पार्टीसँगको ७ बुँदे समझदारी बमोजिम २०८३ असारसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले साथ दिनुपर्छ,’ बैठकमा बोल्दै महामन्त्री शर्माले भने, ‘तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न। आफ्नै पुस्ताको कोही आदरणीय नेतालाई प्रधानमन्त्री बनाउन उहाँले नै प्रस्ताव गर्नुपर्छ।’

महामन्त्री शर्माले देउवालाई आफ्नै पुस्ताका अन्य ६ जना नेताहरूमध्ये एक जनालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न पनि सुझाव दिए। जसमा डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा। शशाङ्क कोइराला र अर्जुननरसिंह केसीको नाम लिए।

कांग्रेसबाट प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न एकसे एक अग्रज, अनुभवी र दक्ष नेताहरू रहेको बताउँदै महामन्त्री शर्माले जसमध्येबाट जसलाई बनाए पनि न्याय र कदर हुने बताए। ‘यस्तो गर्दा एक, सभापतिको त्याग देखिन्छ। दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ। तिन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं,’ महामन्त्री शर्माले प्रस्ताव राख्दा बोलेको कुरालाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने।

सभापति देउवाले यसरी त्याग गर्दा राजनेता बन्न सक्ने पनि दाबी गरे। महामन्त्री शर्माले नीति, कर्म र त्यागबाट राजनेता बन्ने बताउँदै सभापति देउवाले नीति र कर्म गरिसकेको बताउँदै अब बाँकी त्याग रहेको पनि टिप्पणी गरे। ‘अब ०८३ असारमा पुगेर त्यो त्याग पनि गर्नुपर्छ,’ उनले भने।

शर्माले देउवाको नेतृत्वमा कमैया मुक्ति, कदमजम, दलित आयोग र महिला आयोग निर्माण, संविधान कार्यान्वयन, संसद विघटन विरुद्ध आन्दोलन लगायतका सफलता हासिल भएकाले प्रशंसा र बधाईका पात्र रहेको पनि बताए।

प्रकाशित: १६ भाद्र २०८१ १८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App