२ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेलबाट छुटेका केजरीवालद्वारा राजीनामा दिने घोषणा, भारतमा तरङ्ग

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै केजरीवालले राजीनामा दिने बताएका हुन्।

सिबिआईद्वारा चलाइएको मुद्दामा भारतीय सर्वोच्च अदालतको आदेशमा केजरीवाल दुई दिनअघि मात्रै १० लाख धरौटीमा छुटेका थिए।

‘म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिन गइरहेको छु,’ आइतबार आम आदमी पार्टीको दिल्लीस्थित मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै केजरीवालले भने,‘अब त्यति बेलासम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन, जबसम्म जनताले आफ्नो फैसला सुनाउनेछन्।’ जनताले जबसम्म आफूलाई पदमा बस भन्दैनन् तबसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन्।

‘म जनताको बिचमा जानेछु। गल्लीगल्ली घरघर जानेछु। र, जबसम्म जनताले आफ्ना फैसला सुनाउँदैनन् कि केजरीवाल इमान्दार हो। तबसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्नेछैन,’ उनले भनेका छन्। आफूबाहेक दिल्ली सरकारको उपमुख्यमन्त्री रहेका मनिष सिसोदिया पनि जनताको फैसलापछि मात्रै पद सम्हाल्ने उनले बताए।

मुख्यमन्त्री केजरीवालले दिल्ली विधान सभाको आगामी सन् २०२५ फेब्रुअरीको सट्टा यही वर्ष नोभेम्बरमा निर्वाचन गर्न पनि माग गरेका छन्। 

यस्तै दिल्लीमा जबसम्म निर्वाचन हुन्न तबसम्म अर्को आम आदमी पार्टीबाटै अर्को व्यक्ति मुख्यमन्त्री बनाउने पनि केजरीवालले बताएका छन्।

दिल्लीको मुख्यमन्त्री रहेकै बेला केन्द्र सरकार मातहतका निकाय पहिले प्रवर्तन निर्देशनालय (इडी) र पछि सिआइबीले कथित ‘सराब घोटाला’ प्रकरणमा केजरीवालमाथि मुद्दा चलाउँदै पक्राउ गरेर जेलमा राखेका थिए। भ्रष्टाचार मुद्दामा जेलमा पर्दा पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिएको भन्दै केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले उनको विरोध गरिरहेको थियो। 

तर, विपक्षी दलले केजरीवालमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको प्रतिवाद गरिरहेका छन्। यस्तोमा केजरीवालले पनि राजनीतिक प्रतिशोधका कारण आफूलाई जेलमा हालिएको भन्दै जेलबाटै सरकार चलाएका थिए।

यस्तोमा सर्वोच्चको आदेशले धरौटीमा रिहा भएपछि उनले राजीनामाको घोषणा गर्दा भारतमा हलचल मच्चिएको छ।

भाजपाले केजरीवालको राजीनामालाई ‘स्टन्ट’ भनेको छ । भाजपाका प्रवक्ता प्रदीप भण्डारीले केजरीवालको राजीनामालाई ‘पिआर स्टन्ट’ भनेर टिप्पणी गरेका छन्।

‘आज  आम आदमी पार्टी देशभर कट्टर भ्रष्टाचारी पार्टीको रुपमा जानिन्छ। यसरी गिरेको छवि आफ्नो यो पिआर स्टन्टले फर्काउन चाहन्छन्,’ प्रवक्ता भण्डारीले भनेका छन्,‘तर दिल्लीका जनताले बुझिसकेका छन्।’

उता अर्को विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता सन्दीप दिक्षितले पनि केजरीवालको राजीनामालाई ‘नाटक’ भनेका छन्। 

‘मुख्यमन्त्री बनुन् या नबनुन् यसको केही मतलब छैन । किनकि हामी पहिलेदेखि भनिरहेका थियौँ कि उनले पद छोड्नुपर्छ,’ उनले भनेका छन्,‘भलै कुनै पनि अकारण जेल परेको होस्। अब केवल नाटक मात्रै हो।’

दिल्ली विधानसभामा केजरीवालको पार्टी आम आदमीको स्पष्ट बहुमत छ । केजरीवालले राजीनामा दिएकै अवस्थामा पनि अर्को निर्वाचन नभएसम्म उनकै पार्टीको सरकार रहने निश्चित छ।

प्रकाशित: ३० भाद्र २०८१ १७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App