नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराएका छन्।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले केन्द्रीय सदस्य द्वय मञ्जुशर्मा चालिसे (बागलुङ) र कुन्दन कुसवाह (रौतहट) लाई शपथ गराएका हुन्।
अध्यक्ष ओलीले पार्टीको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च) मा भएको व्यवस्थाअनुसार मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।
गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य र १६ जना केन्द्रीय सदस्यलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो।
मनोनीत गरिएका दुई जना केन्द्रीय सदस्य शपथ छुटेकाले आज गराइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए। बाँकी सदस्यलाई गत साउन २० गते शपथ गराइएको थियो।
प्रकाशित: २ भाद्र २०८१ १९:१९ आइतबार





