४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले सांसद पाठकद्वारा लण्डनमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल

वेलायत भ्रमणमा रहेका पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकले नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावबारे लण्डनमा छलफल गरेका छन्। 

डा. पाठकले बेलायती पूर्वमन्त्री तथा सत्तारुढ दल लेवरका सांसद ब्यारी ग्राडिनरसँग बिहीबार भएको भेटमा जलवायु परिवर्तन विश्वको मुख्य समस्याका रूपमा अगाडि आएको र यसले नेपालमा समेत प्रभाव पारेको बताए।

डा. पाठकले जलवायु परिवर्तनका कारण मानव जीवनका पर्यावरण, सामाजिक, आर्थिक, र शारीरिक लगायतका अधिकांश क्षेत्रहरू प्रभावित भइरहेकोमा चिन्ता व्यक्त गरे।

उनले वर्तमान सरकारले देशको समृद्धिका लागि आर्थिक सुधार लगायत जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

साथै, उनले जलवायु परिवर्तनको विश्वव्यापी असरलाई सामना गर्न सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।

डा.पाठकले नेपालको लोकतन्त्रलाई थप संस्थागत गर्ने र राजनीतिक स्थिरताका लागि सरकारले काम गरिरहेको जानकारी गराए। उनले बेलायतले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

बेलायती सांसद ग्राडिनरले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै, नेपालमा आर्थिक प्रगति देख्न चाहेको बताए। साथै, उनले चीन र भारतबीच अवस्थित नेपालको भू-राजनीतिक अवस्थाबारे चासो व्यक्त गरे।

प्रकाशित: ३२ श्रावण २०८१ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App