२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको प्रस्ताव: प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने गरी व्यवस्था गरौं

गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताएका हुन् ।

‘निर्वाचन कानुनलाई एकीकृत गर्ने कुरा छ । निर्वाचन आयोग ऐनका केही दफा र सात वटा ऐनलाई एकीकृत गरिराखेका छौं । यसबाट ८ वटा ऐन यसबाट प्रभावित भइराखेका छन्,’ उनले भने,‘अब यसलाई अगाडि बढाऔं । यसलाई चाँडोभन्दा चाँडो संसदमा लैजाऔं ।’

निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव संसदमा आफूले बोक्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘त्यसलाई संसदमा म बोक्छु । यसलाई पारित गरौँ । यसमा मेरो प्रतिबद्धता छ । जति सक्दो चाँडो ल्याउनुहोस् । केही कुरा टुङ्ग्याउन बाँकी छ भने संसदले नै टुङ्ग्याउँछ ।’आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्ने पाउने गरी प्रस्ताव तयार पार्ने गृहमन्त्री लेखकको आग्रह थियो ।

यस्तै लोकतन्त्रलाई जीवन्त राख्ने धेरै महत्त्वपूर्ण आधार स्तम्भ मध्येको एक आवधिक निर्वाचन भएको गृहमन्त्री लेखकले बताए । ‘निर्वाचन आवधिक, सहज सत्ताको हस्तान्तरण, स्वतन्त्र निष्पक्ष र पारदर्शी निर्वाचन भएन भने लोकतन्त्रका अरु सबै कुरा भए पनि अर्थ छैन । निर्वाचन लोकतन्त्रको प्रवेशद्वार हो,’ उनले भने ।

निर्वाचन आयोगलाई थप सबल, स्वायत्त, स्वतन्त्र र सुदृढ बनाउने कुरामा सरकारका तर्फबाट कुनै कमी नहुने उनले बताए।

प्रकाशित: २२ श्रावण २०८१ १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App