२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाने

राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेका हुन्, परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ।

भ्रमणका अवसरमा माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।

माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए। सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच भेटवार्ता हुने तालिका छ। यसैगरी भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता हुनेछ।

जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउने र जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि राष्ट्रपति पौडेल सहभागी हुने मन्त्रालयले जनाएको छ। भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी रहनेछन्।

नेपाल–जापान सम्बन्ध

नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको मानिन्छ। १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सम्बन्ध औपचारिक बनेको हो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा दूतावास स्थापना गरेका थिए। जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावास पनि छ।

ऐतिहासिक सम्बन्ध

जापानी बौद्ध भिक्षु रेभ एकाई कावागुची १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थहरूको खोजीमा तिब्बतको बाटो हुँदै नेपाल आएका थिए। उनले जापानमा नेपालको परिचय गराएको र आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानी जनतालाई लुम्बिनीको महत्त्व उजागर गरेको इतिहासकारहरू बताउँछन्।

राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएपछि नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिकिएको बताइन्छ।

भ्रमण आदानप्रदान

नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्ध सुदृढ पार्न योगदान दिएको छ। पछिल्लो समय दुवै देशबीच उच्चस्तरीय भ्रमणहरू नियमित रूपमा भइरहेका छन्।

जापानका विदेशमन्त्री तारो कोनोको निमन्त्रणामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखि जापानको औपचारिक भ्रमण गरेका थिए। त्यस्तै, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले २०१८ अक्टोबर ८ देखि १२ सम्म एसियाली–अफ्रिकी कानुनी परामर्शदाता संगठनको ५७औँ सत्रमा भाग लिन जापान भ्रमण गरेका थिए।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ अक्टोबर २०–२२ सम्म टोकियोमा आयोजित सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान भ्रमण गरेकी थिइन्।

यसैगरी जापानका विदेशमन्त्री तारो कोनोले २०१९ जनवरी ९–१० मा नेपालको भ्रमण गरेका थिए। तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानकी विदेशमन्त्री सुश्री कामिकावा योकोले २०२४ मे ५ मा नेपालको औपचारिक भ्रमण गरेकी थिइन्।

विकास सहयोग

जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान दिँदै आएको छ। जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। साथै पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि प्रदान गरेको छ। जापानको सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र संस्कृति पर्दछन्।

जापानले विद्युत् उत्पादन, सडक, पुल, खानेपानी सुविधा र दूरसञ्चारजस्ता क्षेत्रमा आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकता दिएको छ। सिन्धुली सडक जापानी विकास सहयोगअन्तर्गतका प्रमुख परियोजनामध्ये एक हो। कुलेखानी (१ र २) जलविद्युत् स्टेसन, कालीगण्डकी ‘ए’ जलविद्युत् स्टेसन, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजनामा जापानले ऋण सहयोग प्रदान गरेको छ।

पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत हाल सञ्चालनमा रहेका परियोजनामा नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार परियोजना र चौबाटो सुधार परियोजना रहेका छन्। सन् १९५४ मा जापान कोलम्बो योजनामा सामेल भएदेखि जापान सरकारले नेपाली विद्यार्थीहरूलाई प्राविधिक तालिम दिँदै आएको छ। जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का स्वयंसेवक कार्यक्रमअन्तर्गत जापान ओभरसिज कोअपरेसन भोल्युन्टियर्स र वरिष्ठ स्वयंसेवकहरू पनि नेपालमा परिचालन हुँदै आएका छन्। यो कार्यक्रम सन् १९७० मा सुरु भएको हो।

प्रकाशित: १७ माघ २०८२ २०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App