गृहमन्त्री रमेश लेखकले कसैको रहरले मुद्दा नचल्ने बताएका छन् । बिहीबार सिंहदरबारमा प्रतिनिधिसभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ ?’, गृहमन्त्री लेखकले भने,‘रहरमा मुद्दा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ ।’ सांसदले फाइल खोल्ने विषयमा कुरा उठाएपछि गृहमन्त्री लेखकले यस्तो जवाफ दिएका हुन् ।
कुनै मुद्दा चलेको अवस्थामा छुट्ने व्यक्ति पनि कानुनबमोजिम नै छुट्ने पनि गृहमन्त्री लेखकले बताए । ‘छुट्न पनि कानुन बमोजिम छुट्छ । भन्ने मेरो आधारभूत मान्यता हो,’ उनले भने ।
गृहमन्त्री लेखकले लोकतन्त्रका आधारभूत तत्त्व मध्ये विधिको शासन एउटा तत्त्व भएको समेत बताए । सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको समेत उनले बताए ।
‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रद्धिवदता व्यक्त गर्दछु । समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु,’ गृहमन्त्री लेखकले भने ।
यस्तै सांसदले प्रहरी कर्मचारी सरुवाको विषय उठाएपछि गृहमन्त्री लेखकले कर्मचारीको सरुवा र बढुवा सामान्यतया तोकेको अवधि र कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुनसक्ने बताए।
उनले भने, ‘जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो । र, योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु प¥यो ।’ अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो भन्दै प्रतिप्रश्न गरे ।
प्रकाशित: १७ श्रावण २०८१ १४:५८ बिहीबार