२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

न्युरोड ‘ब्याटल’ मा बालेन किन ‘ब्याक’ ?

काठमाडौं महानगरपालिका र न्युरोड क्षेत्रका बासिन्दाबिच मंसिर २ गतेसम्म न्युरोड क्षत्रेमा कुनै निर्माण सम्बन्धी काम सहमति भएको छ। जसले न्युरोड क्षेत्रको विवाद तत्कालका लागि साम्य हुने देखिएको छ।

सहमतिअनुसार न्युरोड क्षेत्रमा आवश्यक निर्माण कार्य गर्न एक अध्ययन समिति बनाउने र त्यो समितिले दिएको प्रतिवेदनका आधारमा अघि बढ्ने निर्णय भएको छ।

समितिको संयोजकमा सुमनराज भण्डारीलाई तोकेको छ। यस्तै सदस्यमा वडा नं। २२, २३ र २४ वडाध्यक्ष र महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव तोकिएको छ।

न्युरोडको फुटपाथ बढाउने विषयलाई लिएर महानगरका मेयर बालेन्द्र साह र केन्द्रीय स्तरका नेतासम्म टकराबमा उत्रिएका थिए।

महानगरले न्युरोड क्षेत्रमा फुटपाथ बढाउन थालेदेखि नै यसमा द्वन्द्व सिर्जना भएको थियो। महानगरले योजना थाल्दा संघीय सरकार मातहतको सडक विभाग बिचमा आएको थियो। विभागले महानगरले थालेको काम सडक कानुन विपरीत भन्दै रोकेर महानगरले फुटपाथ बनाउन भत्काएको सडक पुनः कालोपत्रे गरिदिएको थियो।

तर, मेयर बालेन भने न्युरोड क्षेत्रमा पैदल मार्ग बिस्तार गरिछाड्ने अडानमा उत्रिएका थिए। यही क्रममा उनले अदालतको ढोका समेत ढकढक्याए। डिभिजन सडक कार्यालयको पत्र लिएर महानगरले उच्च अदालत पाटन पुगेर २७ जेठमा रिट दायर गरेको थियो।

रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नं। २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०–०८१ को आर्थिक बजेटबाट फुटपाथ (सडक पेटी) बिस्तार गर्ने योजना अनुरूपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले मिति २०८१ जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने ब्यहोराको पत्राचार एवं भौतिक रूपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो।

सोही रिटमा सुनुवाइ गर्दै अदालतले न्युरोडमा पैदल मार्ग बिस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो।  न्यायाधीश द्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएको थियो।

अदालतको आदेश आएसँगै महानगरले गत बुधबारदेखि पुनः फुटपाथ बढाउने काम थाल्यो। तर, सो काममा स्थानीयले अवरोध गर्दै प्रतिकारमा उत्रिए। शुक्रबार मेयर बालेनको पुत्ला समेत दहन गरियो। त्यसपछि न्युरोड क्षेत्रको अवस्था असामान्य बनेको थियो।

अवरोध कार्यमा वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन नै सडकमा उत्रिएका थिए। यो कार्यमा मेयर र वडाध्यक्ष नै आमने–सामने भएपछि कतिपयले हिंसात्मक स्थिति सिर्जना हुनसक्ने आङ्कलन समेत गर्न थालेका थिए।

तर पछिल्लो समय मेयर बालेन अलि संयमित देखिएका छन्। उनले तत्कालको मुठभेटलाई रोकेर सहमतिको मार्गतर्फ डो¥याएका छन्। जसअनुसार तत्काल द्वन्द्वको अवस्था रोकिएको देखिएको छ।

महानगरका प्रवक्ता नवीन मानन्धर ऐतिहासिक ठाउँमा बन्ने संरचना अलि बढी अध्ययन गरेर निर्माण कार्य गरौँ भन्ने उद्देश्यका साथ अहिले निर्माण कार्य रोकिएको बताउँछन्।

‘न्युरोड क्षेत्र ऐतिहासिक ठाउँ हो। नयाँ निर्माण संरचना बनाउँदा केही भत्किन सक्छन्। त्यसैले त्यो भत्काइसकेपछि पछुताउनुभन्दा केही अध्ययन गरेर अघि बढौँ भन्ने उद्देश्यले तत्काल काम रोकिएको हो,’ उनले भने,‘उता इन्द्रचोकमा त्यस्तो खालको संरचना बनिरहेको छ। केही समयमा सकिन्छ। त्यहाँको प्रभाव हेरेर यता संरचना बनाऊ भन्ने हो।’

इन्द्रचोकमा पनि सोही किसिमको संरचना बनिरहेकोले त्यहाँबाट हुने प्रभाव, सडक आवतजावत, फुटपाथको अवस्था र आर्थिक गतिविधिका कुराहरू हेरेर नयाँ काम थालनी गरिने उनले बताए।

अहिले बर्खा लागेकाले फुटपाथ निर्माणको काम उपयुक्त नभएको पनि मानन्धरले बताए।

यस्तै फुटपाथ बिस्तारको विषयमा मेयर लचक हुनुभएको हो ? भन्ने प्रश्नमा मानन्धरले यो कुरालाई लचक भएको भन्न नमिल्ने, बरु जनताका कुरा सुनेको भन्नुपर्ने बताए। ‘जनताको प्रतिनिधिले जनताले खोजेकै काम गर्ने हो। त्यसैले अध्ययन गरेर काम अगाडि बढाउ भन्ने निष्कर्ष उहाँको निष्कर्ष होला,’ मानन्धरले भने।

उता मेयर बालेनको सचिवालयले फुटपाथ बिस्तारको विषय मेयरको मात्र नभएर महानगरको निर्णयमा भएको विषय भएको बताउँछ। ‘फुटपाथ बढाउने कुरामा मेयरको मात्र भन्ने हुँदैन, नगरपालिकाले के निर्णय गर्छ भन्ने हो। सोही निर्णय अनुसार अगाडि बढ्ने हो,’ एक जना सचिवालय सदस्यले भने।

वडा नं. २२ का अध्यक्ष महर्जनले न्युरोडमा फुटपाथ विस्तारको काम रोकिएपछि ‘जनताको जीत’ भन्दै खुसी मनाइरहेका छन्। सोमबार महानगरसँगको सहमति पछि न्युरोडमा भएको कोणसभामा बोल्दै उनले ‘प्रजातन्त्रमा जनताले चाहेको कुरा नै हुन्छ भन्ने भाष्य स्थापित भएको’ बताएका थिए। 

यो पनि पढ्नुहोस्

न्युरोड विवाद सुल्झेनः मेयर वडाध्यक्ष टकराब उत्कर्षमा

यो पनि पढ्नुहोस्

न्युरोडको फुटपाथ विस्तार मंसिर २ गतेपछि मात्र हुने

यो पनि पढ्नुहोस्

महानगरले थाल्यो न्युरोडको फुटपाथ विस्तारको काम (तस्बिरहरू)

प्रकाशित: ८ श्रावण २०८१ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App