२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनीमा दलका नेतालाई पाखा लगाएर उपनेतालाई अवसर

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन्। एमाले संसदीय दलका उपनेता आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई संविधानको धारा १६८ (२) अन्तर्गत मुख्यमन्त्री नियुक्त गरिएको हो।  

आचार्यलाई एमाले तथा कांग्रेसका सांसदको समर्थन रहेको छ। एमालेका २९ तथा कांग्रेसका २७ सहित ५६ सांसदको समर्थनसहित आचार्यलाई मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस तथा एमालेले प्रदेश प्रमुख शेरचनसमक्ष दाबी पेस गरेका थिए। कुल ८६ सदस्यीय प्रदेशसभामा यो सदस्य संख्या बहुमत हो।

बहुमतका लागि यो प्रदेशसभामा ४४ मत आवश्यक पर्छ। माओवादीका जोखबहादुर महराले आइतबार संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएपछि नयाँ सत्ता समीकरण निर्माण गरेका एमाले र कांग्रेसलाई नयाँ सरकार गठनका लागि बाटो खुलेको थियो।

यो प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने कांग्रेस एमालेका शीर्ष नेताबीच सहमति बनेको थियो। सोही सहमतिका आधारमा यो प्रदेश सरकारको नेतृत्व एमालेले गरेको हो।

आचार्य मुख्यमन्त्रीमा नियुक्त भएसँगै एमालेले मुख्यमन्त्री नियुक्तिका लागि नयाँ राजनीतिक अभ्यासको समेत सुरुवात गरेको छ। यसअघि मुख्यमन्त्री पार्टीका संसदीय दलका नेता चयन हुने राजनीतिक अभ्यास कायम रहँदै आएको थियो।

आइतबार माओवादीका नेता महराले मुख्यमन्त्री पदबाट राजीनामा दिँदासमेत एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै बनेको थियो। तर एमालेले संसदीय दलका नेतालाई पाखा लगाएर संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

यसअघि प्रदेशसभाको पहिलो कार्यकालदेखि निवर्तमान मुख्यमन्त्रीसम्म बनेका सबै मुख्यमन्त्री दलका नेता नै चयन हुँदै आएका थिए। प्रदेशसभा स्थापनाको सुरुवाती कालमा एमालेका तत्कालीन संसदीय दलका नेता शंकर पोख्रेल मुख्यमन्त्री चयन भएका थिए। उनको सत्ता बहिर्गमनपछि प्रदेशको सत्ता नेतृत्व माओवादीको हातमा पुगेको थियो। त्योबेला पनि माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए।

यसैगरी प्रदेशसभाको दोस्रो कार्यकालको प्रारम्भमा एमालेले सरकारको नेतृत्व ग¥यो। त्यो बेला एमालेका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री चुनिएका थिए। गिरी नेतृत्वको सरकार ढलेपछि बनेको कांग्रेस नेतृत्वको सरकारमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका थिए।

चौधरी नेतृत्वको सरकार ढलेपछि माओवादी नेतृत्वमा सरकार बन्यो। यो बेला पनि माओवादी संसदीय दलकै नेता जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए। महराको सत्ता बहिर्गमनपछि भने एमालेले अहिले संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउने अभ्यासलाई तोडेको छ। जबकि प्रदेशसभाको यो कार्यकालको प्रारम्भमा मुख्यमन्त्रीमा संसदीय दलका नेता गिरीलाई तोकेको एमालेले अहिले भने उनै गिरीलाई पाखा लगाएर दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएको छ।

दलका नेता मुख्यमन्त्री बन्ने पक्का बनेको भन्दै चर्चा चलेको भए पनि एमालेका शीर्ष नेताहरूले उनलाई पाखा लगाएर आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको एमाले नेताहरूले बताएका छन्।

मूलतः यसमा एमालेका महासचिव शंकर पोख्रेलको नियत र भूमिका प्रमुख रहेको बताइएको छ। महासचिव पोख्रेलले गिरीलाई मुख्यमन्त्री बनाउन नहुने अडान लिँदै आइरहेका थिए।गिरीलाई मुख्यमन्त्री नबनाउनकै लागि बरु लुम्बिनीमा एमालेले पाएको भाग त्यागेर बागमतीमा एमालेको भाग पार्नेसम्मको योजना बनाएको नेताहरू बताउँछन्। तर कांग्रेसको भागमा परेको बागमतीमा आफ्नो मुख्यमन्त्री हुने सम्भावना नरहेपछि पोख्रेल लुम्बिनीको मुख्यमन्त्रीमा पात्र फेरबदलको कसरतमा लागेका थिए।

विष्णु पोख्रेलनिकटका गिरीलाई पाखा लगाएर आफूनिकट आचार्यलाई मुख्यमन्त्री बनाउने योजनामा महासचिव पोख्रेल पुगेको नेताहरू बताउँछन्। ‘एमालेका संसदीय दलका नेता गिरीलाई नै मुख्यमन्त्री नियुक्त गर्ने र उहाँलाई मुख्यमन्त्रीका रूपमा दाबी पेस गर्ने आइतबारको निर्णय हो’ कांग्रेसका एक सांसदले भने, तर रातारात परिस्थति बदलियो, फरक पात्रलाई मुख्यमन्त्रीमा दाबी पेस गर्ने परिस्थति बन्यो।

ती सांसदले एमालेभित्रको बेमेलका कारण रातारात यो परिस्थति बनेको समेत बताए। ‘मूलतः शंकर पोख्रेलको इन्ट्रेस्टले यहाँ काम गरेको देखियो’, ती सांसदले भने, ‘यही इन्ट्रेस्टले फरक राजनीतिक अभ्यासको थालनी भयो।’ सोमबार नियुक्त मुख्यमन्त्री आचार्यले बुधबार शपथ लिने कार्यक्रम तय भएको छ।

को हुन् मुख्यमन्त्री आचार्य?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन्। अर्घाखाँचीको साविक अर्घा गाविस–३ हालको सन्धिखर्क–९ मा २०२५ जेठ २२ गते जन्मिएका आचार्यको राजनीतिक यात्रा २०३९ बाट सुरु भएको हो। २०३९ सालमा अनेरास्ववियुमा आबद्ध भएपछि उनको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो।

 २०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा निर्वाचित उनी २०५४ सालमा एमाले अर्घाखाँचीको सचिव पदमा बहाल भए। लामो समय सचिव रहेर पार्टीमा काम गरेका आचार्य २०६९ देखि २०७८ सम्म जिल्ला कमिटीको अध्यक्ष भएर काम गरे। २०७२ सालमा प्राणघातक रोग क्यान्सरले उनलाई थला पा¥यो।

जीवन–मरणकै स्थितिमा उनी उपचारका लागि भक्तपुर र केएमसी अस्पतालमा भर्ना भए। नेपालमा उपचार सम्भव नभएपछि भारतको मेदान्त हस्पिटलमा भर्ना भए। केही निको भएपछि उनले रजहरको प्राकृतिक चिकित्सालयमा समेत करिब तीन महिना उपचार गराए।  

लामो समय रोगले चापे पनि उनी फेरि पुरानै अवस्थामा आउँछन् कि आउँदैनन् भन्ने उनका घरपरिवार तथा शुभचिन्तकमा शंका थियो। उपचारमा लामो समय व्यतीत गरेका आचार्य क्यान्सरजस्तो भयानक रोगलाई पराजित गर्दै पुनः राजनीतिमा सक्रिय हुन थाले। २०६४ को संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी माओवादीका टोपबहादुर रायमाझीसँग पराजित भएका थिए।

देशमा संघीय प्रणालीअनुसार भएको २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी अर्घाखाँची क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भए। नेपाली कांग्रेसका उम्मेद्वार विष्णु मुस्कानलाई १० हजार ६०४ मतान्तरले पराजित गर्दै उनी पहिलो पटक प्रदेशसभा सांसद बनेका थिए। २०७९ को निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ (क) बाटै राष्ट्रिय जनमोर्चाका उम्मेद्वार सागर केसीलाई ७४० मतान्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी भएका थिए।

शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका थिए। करिब एक महिना मात्र मन्त्री बनेका आचार्य दोस्रो पटक लीला गिरीको नेतृत्वमा खानेपानी तथा सहरी विकासमन्त्री बनेका थिए।

दोस्रो कार्यकाल पनि लामो समय मन्त्री बन्न नपाएका आचार्य गत चैत २५ गते जोखबहादुर महराको नेतृत्वमा आन्तरिक मामिला तथा योजना मन्त्री बने। पछिल्लो समय करिब तीन महिना मन्त्री सम्हालेका उनले चौथो पटक भने मुख्यमन्त्रीकै जिम्मेवारी प्राप्त गर्न सफल भएका छन्। हाल उनी नेकपा एमालेका केन्द्रीय सदस्य तथा एमाले दाङ जिल्लाको इन्चार्जको जिम्मेवारीमा छन्।

प्रकाशित: ८ श्रावण २०८१ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App