२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

हामीले सरकार टिकाउनु पर्दैन, आफै टिकिहाल्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई टिकाउनु मात्र आफ्नो उद्देश्य नभई परिणाममुखी बनाउनु मुख्य जिम्मेवारी रहेको बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले हालै जारी गरिएको अध्यादेशहरू सुशासन र विकासलाई तीव्रता दिन आवश्यक भएकाले ल्याइएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, “सरकार त आफै टिकिहाल्छ, तर यसलाई सफल बनाउँदै जनताका समस्या समाधान गर्ने हाम्रो जिम्मेवारी हो। सुशासन र विकासमा सरकारको प्रतिबद्धता यी अध्यादेशमार्फत झल्किएको छ।”

प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतृत्व, विज्ञहरू, र उद्यमीहरूसँग सघन छलफलपछि मात्र अध्यादेशको मस्यौदा तयार गरिएको उल्लेख गरे। “प्रत्येक अध्यादेश विस्तृत तयारी र परामर्शपछि मात्रै सिफारिस गरिएको हो,” उनले भने।

प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट रोकिएको भन्ने अफवाहको खण्डन गर्दै भने, “भूमिसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा रहेको थियो, रोकिएको होइन। यस्ता भ्रामक हल्ला सरकारले गरेका कामलाई कमजोर देखाउने प्रयास मात्र हुन्।”

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति सार्वजनिक गरेर भ्रम फैलाउने प्रयाससमेत भएको बताए। “सरकार ढल्यो भनेर गरिएको प्रयास विशाल नदीमा ढुङ्गा फालेर छेक्ने प्रयासजस्तै हो,” उनले टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले संसद् सुरु भएपछि पहिलो दिनमै अध्यादेश पेस गर्ने र ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पास गरिने जानकारी दिए। उनले थप विधेयकहरूको तयारी भइरहेको र उचित समयमा संसद् आव्हान गरिने बताए।

प्रकाशित: २ माघ २०८१ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App