२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

नशाले भत्किएको जीवन: जो ७ वर्ष साङ्लाले बाँधिए

सात वर्षसम्म मानसिक असन्तुलनका कारण बारीको पाटामा साङ्लोमा बाँधिएर बस्न बाध्य ३० वर्षीय मेघराज गुरुङ (गोरे) अहिले सामान्य जीवनमा फर्केका छन्।

मेघराजको बाल्यकाल अभिभावकको डिभोर्सपछि आमासँग लमजुङको दूधपोखरी गाउँपालिका–२, भूम्लीचोकस्थित मामाघरमा बित्यो। उनी वैदेशिक रोजगारीका लागि कतार र मलेसिया पुगेर केही समयपछि गाउँ फर्किए। तर, गाउँ फर्किएपछि खराब सङ्गत र लागूपदार्थको दुर्व्यसनमा फसेका कारण उनको जीवन क्रमशः अँध्यारोतर्फ मोडियो।

लागूपदार्थ र रक्सीको लतले मानसिक सन्तुलन गुमाउँदै गएपछि उनले हिंसात्मक व्यवहार देखाउन थाले। कपडा बिना हिँड्ने र गाउँलेलाई दुःख दिने उनको व्यवहार नियन्त्रणभन्दा बाहिर गयो। परिवारले उनलाई सात वर्षसम्म साङ्लोमा बाँधेर राख्न बाध्य भए। यसक्रममा उनले २४ वर्षको उमेरदेखि ३० वर्षसम्म बाधिँएरै बसे।

२०८० मंसिर २७ गते मानव सेवा आश्रमले मेघराजको उद्धार गरी आफ्नै संरक्षणमा राख्यो। १३ महिनासम्म औषधि उपचार, परामर्श, र पारिवारिक वातावरणमा राखेपछि मेघराज पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको आश्रमका प्रदेश संयोजक अनिता अधिकारीले बताइन्।

‘उनको परिवार र गाउँलेले यो समस्या मानसिक रोग हो भन्ने बुझ्न सकेका थिएनन्। गाउँलेले “रक्सीले बिग्रिएको” भन्नठान्थे। तर, उचित उपचार र हेरचाहले गोरे भाइलाई निको बनाउन सकिन्थ्यो,’ अनिता भन्छिन्।

मानव सेवा आश्रमको प्रयासले मेघराजको मानसिक स्वास्थ्यमा सुधार मात्र ल्याएन, परिवारसँग पुनर्मिलनको बाटो पनि खोल्यो। अहिले मेघराज आफ्ना परिवारसँग नयाँ जीवन सुरु गर्न तयार छन्।

यसअघि पनि मानव सेवा आश्रमले ३२ वर्षसम्म साङ्लोमा बाँधिएर बसेका लमजुङका ५४ वर्षीय इमानसिंह गुरुङलाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको थियो।

उनका संघर्ष र परिवर्तनको थप विवरण

समाजमा मानसिक स्वास्थ्यप्रतिको चेतनाको कमीले मेघराज र इमानसिंहजस्ता कयौं व्यक्तिले जीवनको लामो समय अन्धकारमा बिताउनुपरेको छ। तर, मानव सेवा आश्रमजस्ता संस्थाको प्रयासले उनीहरूको जीवनमा नयाँ बिहानी ल्याएको छ।

प्रकाशित: २ माघ २०८१ १९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App