३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाहाल प्रधानमन्त्रीबाट बाहिरिएपछि सलबलायो समाजवादी मोर्चा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट बाहिरिएसँगै समाजवादी मोर्चा प्राथमिकतामा परेको छ। 

समाजवादी मोर्चा प्राथमिकता परेसँगै यसलाई ब्युँताउने गरी अभ्यास समेत थालिएको छ।

यस क्रममा मंगलबार नेकपा एकीकृत समाजवादी ९नेकपा एस० को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक समेत सुरु भएको छ। जहाँ भर्खरै प्रधानमन्त्री पदबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष दाहालसमेत पुगेका छन्।

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल महासचिव घनश्याम भुसाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, डा. बाबुराम भट्टराईबाट छुट्टिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ लगायतका नेताहरू उपस्थित छन्।

नेपाली कांग्रेससहितको गठबन्धनमा दाहाल प्रधानमन्त्री रहँदा उनकै समन्वयमा माओवादी केन्द्रसहित नेकपा एस, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, चन्द नेतृत्वको नेकपा लगायतका दलहरूले समाजवादी मोर्चा बनाएका थिए। जसको संयोजक चन्दलाई तोकिएको थियो। यसरी गएको वर्ष समाजवादी मोर्चा बनेको असार ४ गते एक वर्ष पुग्दैछ।

त्यसपछि गत फागुन २१ गते नेकपा एसलाई थाहा नदिएर दाहाल एमालेसँगको गठबन्धनमा गएपछि समाजवादी मोर्चा अलपत्र परेको थियो। लगत्तै एमालेलाई पनि समाजवादी मोर्चामा समेट्ने भनेर चर्चा गरिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले औचित्यहीन मोर्चा भनेपछि प्राथमिकतामा परेको थिएन्।

अहिले कांग्रेस–एमाले गठबन्धनमा ओली प्रधानमन्त्री बनेपछि समाजवादी मोर्चा पुनः प्राथमिकतामा परेको छ।

प्रकाशित: १ श्रावण २०८१ १७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App