२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

शरतसिंह २०औं पटक मन्त्री

वर्तमान सरकारमा छैटौं वरीयतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका शरतसिंह भण्डारी यसअघि विभिन्न कालखण्डमा १९ पटक मन्त्री भइसकेका छन्। राजनीतिमा प्रवेश गरेपछि सधैं मन्त्री भइहाल्ने उनले यसपटक २०औं अवसर पाएका हुन्। भण्डारीनिकट स्रोतका अनुसार मन्त्रीका रूपमा उनले लिएको शपथलाई आधार मान्ने हो भने सोमबार उनको बिसौं हो। पञ्चायतकालमा उनले चारपटक मन्त्रीको शपथ लिएका छन्।

त्यतिबेला प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए। सुरुमा उनी २०४३ असार २ गते श्रेष्ठ नेतृत्वको सरकारमा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री भएका थिए। त्यसपछि मन्त्री हुने उनको यात्रा निरन्तर छ। २०४५ कात्तिकमा उनी श्रेष्ठ नेतृत्व सरकारमै राज्यमन्त्रीमा नियुक्ति भए।

उक्त मन्त्रीमण्डल २०४६ भदौ १४ गते र २०४६ चैत १९ गते हेरफेर भयो। दुवै हेरफेरमा उनी वाणिज्य राज्यमन्त्री भए। दुवैपटक उनले राज्यमन्त्रीका रूपमा शपथ लिए। २०४६ सालको परिवर्तनपछि गणतन्त्र कार्यान्वयन नहुँदासम्म उनी ११ पटक मन्त्री भए। गणतन्त्रपछि अहिलेसम्म पाँचपटक मन्त्री भएका छन्।

भण्डारी २०५२ मंसिर २६ गते शेरबहादुर देउवा नेतृत्वको सरकारमा बिनाविभागीय राज्यमन्त्री भए। २०४६ सालको जनआन्दोलनपछि मन्त्री भएको यो पहिलोपटक थियो। उक्त सरकार २०५३ जेठ ४ गते हेरफेर भयो। उनी पुनः बिनाविभागीय राज्यमन्त्री भए। तर २०५३ पुस २४ गते भएको हेरफेरमा भने उनी राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भए। तर त्यतिबेला पनि उनी बिनाविभागीय मन्त्री भए। त्यसपछि २०५४ असोज २७ गते सूर्यबहादुर थापा नेतृत्वको सरकरमा उनी युवा, खेलकुद तथा संस्कृतिमन्त्री भए। थापाले २०५४ कात्तिक ११ गते र २०५४ मंसिर १८ गते मन्त्रीमण्डल पुनर्गठन गरे। दुवै हेरफेरमा भण्डारी पुनः युवा खेलकुद तथा संस्कृतिमन्त्री नियुक्त भए।

यसैगरी २०५६ जेठ १७ गते कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा उनी युवा, खेलकुद र संस्कृति मन्त्री नियुक्त भए। भट्टराईले २०५६ असार १६ गते र २०५६ फागुन २७ गते मन्त्रीमण्डल हेरफेर गरे। पहिलो हेरफेरमा उनी युवा, खेलकुद तथा संस्कृतिमन्त्री र दोस्रो हेरफेरमा उनी स्वास्थ्यमन्त्री नियुक्त भए।

२०५८ साउन ११ गते शेरबहादुर देउवा नेतृत्व सरकारमा उनी स्वास्थयमन्त्री नियुक्त भए। २०५८ कात्तिक २ गते देउवाले मन्त्रीमण्डल हेरफेर गरे। त्यसमा उनी स्वास्थ्यमन्त्री नियुक्त भए। २०६५ जेठ ११ गते माधव नेपाल नेतृत्व सरकारमा उनी पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भए।

यसैगरी २०६८ भदौ २९ गते डा. बाबुराम भट्टराई नेतृत्व सरकारमा उनी रक्षामन्त्री नियुक्त भए। २०७८ जेठ २१ गते केपी शर्मा ओली नेतृत्व सरकारमा उनी छोटो समयका लागि ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री नियुक्त भए।

यसैगरी २०७९ चैत १७ गते पुष्कमल दाहाल नेतृत्व सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भए। सोमबर केपी शर्मा ओली नेतृत्व सरकारमा उनी पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षमन्त्री नियुक्त भए।

भण्डारीले मरिचान सिंह श्रेष्ठ, शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, माधव नेपाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, पुष्कमल दाहाल सरकरमा मन्त्री भइसकेका छन्। उनको अर्को एउटा विशेषता पनि छ। प्रत्येक चुनावमा उनले दल बदलेका छन्। दोहोर्‍याएर एउटै पार्टीबाट कहिले चुनाव लडेनन्।

पार्टी फेर्द चुनाव लडे र प्रत्येक चुनावमा उनलाई फलिफाप भएको छ। पञ्चायतकालीन राजनीतिदेखि नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी हुँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध छन्।

प्रकाशित: १ श्रावण २०८१ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App