२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद् पसेको मायापिरतीको गीत

भनिन्छ प्रेम, युद्ध र राजनीतिमा सधैं जायज हुन्छ। त्यसैले होला नेपालको संसद्मा पनि मायाका गीत गुन्जन थालेका छन्। नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।

संसद्मा सांगीतिक घोचपेच र आग्रहका समाचार पढेपछि एक पाठकले त ‘कृष्ण कँडेलको इन्द्रेनी संसद् भवनमा सरेछ कि क्या हो ?’ भन्दै प्रश्नसमेत गरे। नवीन भुसालले सामाजिक सञ्जालमा लेखेको प्रतिक्रिया धेरैले मन पराए। ‘कुर्सी तोडेर लड्नुभन्दा त दोहोरी खेलेकै ठिक,’ भुसालको भनाइमा विमल दाहालले प्रतिक्रया जनाए, ‘कम्तीमा मनोरञ्जन त मिलेको छ।’

केही समयअघिसम्म भारतीय संसद्मा दिग्गज नेताबाट सुनिने ‘सेर–सायरी’को जस्तै झल्को नेपालका सदनमा पनि देखिन थालेको हो। गीति प्रहारको पहिलो निसाना भने प्रधानमन्त्री पुष्पकमल दाहालबाटै सुरु भएको थियो। प्रधानमन्त्री दाहालले गत असार १९ गते बालुवाटारमा राजीनामा दिन आएका एमाले मन्त्रीहरूलाई फत्तेमान राजभण्डारीले गाएको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरें मैले’ भनेर सुनाएको भाकाले निरन्तरता पाएको छ। उनको यो भाकालाई उनीसँगै हिजो ‘जनयुद्ध’मा लागेका नेता बाबुराम भट्टराईले गरेको व्यंग्य कम्ता मार्मिक छैन, ‘कुर्सीलाई माया गर्ने एउटा भूल गरें मैले!’

संसद्बाहिरको यो भाका आइतबार भने संसद्भित्रै छिर्‍यो। आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले ‘छल गर्‍यो मायाले’ भन्दै प्रधानमन्त्री दाहालप्रति यो गीत समर्पित गरे। कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनको सहमति भइसकेको अवस्था रहेको बताएका उनले रामकृष्ण ढकालको गीत संसद् बैठकमा सुनाएका हुन्।

‘ओराली लागेको हरिणको चाल भो, बाँचुन्जेलसम्म पनि मरेकै हाल भो,’ गीतकार आनन्द अधिकारी र संगीतकार न्ह्यु बज्राचार्य र गायक रामकृष्ण ढकालको गीतको वर्णन गर्दै शर्माले भने, ‘त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै वर पाको, माया त रैछ धारिलो छुरा रेटि नै पर्‍यो नि !’

त्यस्तै सोमबारको प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्रीलाई गीतबाटै जबाफ फर्काए। ‘म प्रधानमन्त्रीलाई अन्जु पन्तको गीत स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र।’

दाहाललाई प्रधानमन्त्रीमा पछिल्लो पटक एमालेलगायत दलले सहयोग गरेका थिए। एमालेले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा प्रतिपक्षी सिटमा बसिसकेको छ। बर्तौलाको यो गीत दाहालको ‘एउटा भूल गरें मैले’प्रति समर्पित देखिन्थ्यो।

गत असार १७ गते संसद्का दुई ठुला दल नेपाली कांग्रेस र एमालेले नयाँ समीकरणबाट सरकार बनाउनेलगायत सहमतिमा हस्ताक्षर गरेका थिए। लगत्तै एमालेले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन भनेको थियो।

संसद्मा गीतबाट प्रधानमन्त्री दाहालमाथि आलोचना हुन थालेपछि प्रधानमन्त्री दाहालको दल माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले पनि गीतबाटै बचाउ गरे। ‘मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो,’ सांसद घर्तीले कुन्ती मोक्तानले गाएको र शिलाबहादुर मोक्तानले संगीत भरेको गीत सुनाए, ‘कति जल्छौं आरिसले अझै जल्दै गर, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर।’

अल्पमतमा परेपछि किन राजीनामा नदिएको भन्ने विपक्षीको प्रश्नतर्फ यो गीत समर्पित देखिन्छ। तर प्रधानमन्त्री दाहाल संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेतर्फ अघि बढेका छन्। यही असार २८ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले मुरलीधरको गीत थपे, ‘उडायो सपना सबै हुरीले भन्ने चरितार्थ नबनोस्।’ ओलीलाई प्रधानमन्त्री बन्न नदिने पछिल्लो खेलप्रति सायद यो गीत समर्पित थियो। संसद्मा गीतबाटै सवालजबाफ चलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले व्यङ्ग्य गर्दै भनिन्, ‘कविता, गीत हुँदै कुनै दिन नाच पनि हेर्न पाइएला।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले केही दिनयता संसद्मा दोहोरी चलेको टिप्पणी गरे। ‘एउटाले आहान भनेको छ, अर्कोले गीत गाएको छ, गीत गाउँदैमा हाम्रो अवधि जाने हो कि !’ उनले भने। सदनमा गीति पाराबाट भएको सवालजवाफलाई केही पाठकले भने मन पराएका छन्। ‘दुस्मनी गरे पनि यस्तै रमाइलै ढंगबाट गर्नुस्,’ सामाजिक सञ्जालमा मनोहर कार्की लेख्छन्, ‘ताकि पछि साथीभन्दा पनि अप्ठ्यारो नपरोस्।’

एक पाठकले त अल्पमतमा परेपछि किन कुर्सीमा टाँसिइरहेको भन्दै इरतिजा निशातको पङ्क्तिसमेत राखे। उक्त पङ्क्तिमा लेखिएको छ, ‘कुर्सी है तुम्हारा ..., कुछ कर नहीं सकते तो उत्तर क्यों नहीं जाता। सत्तामा टाँसिइरहने शासकप्रति लक्षित यो निशातको यो व्यङ्ग्य अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग मेल खाने उनले लेखेका छन्।नमन्त्री पुष्पकमल दाहालसँग मेल खाने उनले लेखेका छन्।

प्रकाशित: २५ असार २०८१ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App