२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

ती देउवा, यी ढकाल

२०८० साउन २ गते नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै थियो। बैठकमा प्रस्तुत गर्ने अजेन्डा तय गर्न पार्टी सभापति शेरबहादुर देउवाले अघिल्लो दिन पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवासमा डाँकेर छलफल गरेका थिए।

देउवाले फ्याट्ट प्रस्ताव ल्याए–‘बैठक प्रत्यक्ष प्रसारण गरौं।’ अरू नेताहरू अक्क न बक्क भए। प्रायः सञ्चारमाध्यममा आउन नरुचाउने र सार्वजनिक चासोबारे कमै मात्र अभिव्यक्ति दिने देउवाबाट त्यस्तो प्रस्तावको कल्पना नै थिएन। त्यसमा पनि नेपालका कुनै पनि राजनीतिक दलमा यस्तो अभ्यास थिएन। दलहरूले सकभर आफ्ना बैठक गोप्य नै राख्दै आएका थिए।

देउवाले प्रस्ताव मात्रै गरेनन्, त्यसपछि झन्डै सात दिन चलेको बैठकको प्रत्यक्ष प्रसारण गरिदिए। देउवाको उक्त निर्णयको धेरैले अनेक किसिमले टिप्पणी पनि गर्दै आएका छन्। उक्त अभ्यास नेपालका राजनीतिक दलमा हुने छलफललाई जनतासमक्ष जस्ताको तस्तै पुर्‍याउने पारदर्शिताको नयाँ आयामको थालनी बन्यो।

देउवाले पार्टी बैठक प्रत्यक्ष प्रशारण गराउनुको मुख्य कारण उनीविरुद्ध हुने सार्वजनिक आलोचनाविरुद्धको कदम रहेको निकटस्थहरु बताउने गर्छन्। त्यो बैठकअघि पनि देउवाको चौतर्फी आलोचना भइरहेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाणलाई निलम्बन नगरेको भन्दै आलोचना भइरहेको थियो। एक वर्षदेखि केन्द्रीय समिति बैठक बसेको थिएन। देउवाकै अडानमा कांग्रेसले गठबन्धन गरेर चुनावमा जाँदा अपेक्षित नतिजा आएको थिएन।

देउवाले यी विषयसँग सम्बन्धित आलोचनाको सामना बैठकमा गर्ने निश्चित थियो। तर देउवाले आफैं प्रस्ताव गरेर प्रत्यक्ष प्रसारण गराए। उनीनिकट स्रोतका अनुसार देउवा पार्टीभित्रको छलफल जस्ताको तस्तै कार्यकर्ता र शुभेच्छुकसमक्ष पुर्‍याएर वस्तुगत चित्र देखाउन चाहन्थे।

इतरपक्षी नेताले बैठकमा एक र बाहिर अर्कै कुरा गरेर आफूविरुद्ध दुष्प्रचार गरेको देखाउन चाहन्थे देउवा। यो विषयको एक वर्ष पुग्न लागेको छ। त्यो प्रसंग सम्झाउनेगरी बुधबार एक नयाँ दलमा अस्वाभाविक दृश्य सार्वजनिक भएको छ।

प्रसंग रास्वपा बैठकको हो। बुधबार बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय घण्टीघरबाट अस्वाभाविक लाग्ने दृश्य बाहिरियो। दृश्यमा रास्वपा महामन्त्री डा. मुकुल ढकाल कालो टेप टाँसिएको मास्कले मुख छोपेर बसेको देखिन्छन्। तस्बिर रास्वपा केन्द्रीय समिति बैठकको हो।

एक वर्षअघि कांग्रेस सभापति देउवा र अहिले रास्वपा महामन्त्री ढकालको अवस्था समान छ। उतिबेला कांग्रेसभित्र आलोचनाको घेरामा देउवा थिए, अहिले रास्वपामा महामन्त्री ढकाल। देउवाले जस्तै ढकालले रास्वपा केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर जनतासमक्ष पारदर्शी रूपमा राख्न प्रस्ताव राखे। तर उनको प्रस्ताव स्वीकृत भएन, अनि उनले मुखमा कालोपट्टी बाँधे।

पार्टी सभापति रवि लामिछानेले नै महामन्त्रीको प्रस्ताव घुमाउरो शैलीमा अस्वीकार गरेको बताइन्छ। तर लामिछानेले आफैं भने निर्णय दिएनन्, आफू निकट केन्द्रीय सदस्यलाई प्रस्तावविरुद्ध बोल्न लगाएर प्रत्यक्ष प्रसारण रोकिदिए। रास्वपा सहप्रवक्ता मनिष झाले भने सभापति लामिछानेले प्रत्यक्ष प्रसारणको प्रस्ताव स्वीकार गरेको तर शतप्रतिशत केन्द्रीय सदस्यले अस्वीकार गरेको दाबी गरेका छन्।

‘महामन्त्रीज्यूले प्रतिवेदन लाइभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो। तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो,’ झाले भने, ‘त्यसको विरोधस्वरूप उहाँले मुखमा मास्क लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो।’

प्रकाशित: २० असार २०८१ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App