२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीलाई दबाब कि दाहाललाई तनाव ?

सत्ता गठबन्धनको काँध फेरेको चार महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन्। नेकपा एमालेलाई दबाबमा राख्ने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य रूपमा हिमचिम बढाउन खोज्दा दाहाल तनावमा परेका हुन्। एमाले अध्यक्ष केपी ओलीले दाहालको चाल थाहा पाएपछि अविश्वास सिर्जना भएको छ।

गत बिहीबार राति प्रधानमन्त्री दाहालले सभापति देउवासँग भेटघाट गरेर ओलीलाई दबाबमा राख्ने संकेत गरेका थिए। खासगरी राजनीतिक नियुक्तिमा एमाले हाबी भएका समाचार आइरहेका बेला दाहालले कांग्रेसलाई पनि साथमा लिएर जाने संकेत गर्दै देउवासँग भेटघाट अघि बढाएका थिए । तर त्यो भेटघाटपछि दाहालको अस्थिर स्वाभाव फेरि प्रकट भएको बताइएको छ। ‘भेटघाट दिउँसो पनि हुन्छ, जस्तो केपी ओली र शेरबहादुर देउवाबीच शनिबार भेटघाट भयो। दाहाल मध्यरातमा देउवा भेट्न बिहीबार बुढानीलकण्ठ जानुभएको रहेछ। भोलिपल्टै तीन नेताबीच पनि भेटघाट भयो,’ एमालेका एक पदाधिकारीले भने । दाहाल र देउवाको भेटघाट भएकै भोलिपल्ट सत्य–निरूपण तथा मेलमिलाप (टिआरसी) सम्बन्धित विधेयक संसद्बाट चाँडै पास गर्नुपर्‍यो भनेर छलफल गर्न ओलीसहितको बैठक बोलाइएको थियो। ‘खासमा त्यो बैठक अघिल्लो राति देउवासँगको भेटघाट गोप्य नभई टिआरसी विधेयकबारे छलफलका लागि मात्र हो भनेर ओलीलाई आभास दिलाउन भोलिपल्ट बोलाइएको रहेछ,’ एमालेका ती पदाधिकारीले भने।

बिहीबार रातिदेखि आइतबारसम्म तीन शीर्ष नेताबीच पटकपटक भेटघाट र छलफल भइरहेको छ। दाहाल–देउवा भेटघाट बिहीबार भएको थियो। शुक्रबार भने दाहाल, ओली र देउवाबीच भेटघाट भयो। शनिबार ओली र देउवाबीच तथा आइतबार दाहाल र ओलीबीच भेटघाट भयो। आइतबारको भेटघाटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए। यस्ता भेटघाट भइरहने भन्दै ओली खुल्न चाहेनन्। ओली र देउवाबीचको भेटघाटबारे पनि केही खुलासा भएको छैन।

कांग्रेससँगको सहकार्यमा रहँदा एमालेलाई देखाएर दबाबमा राख्न खोज्ने दाहाल एक वर्षपछि पुनः एमालेसँगै सहकार्य गर्न आइपुगेका थिए। एमालेसँग सहकार्य सुरु गरेलगत्तै दाहालले सत्तामा उथलपुुथल ल्याउने दाबी गरेर एमालेलाई दबाबमा राख्न खोजेका थिए। गत असार ८ गते प्रधानमन्त्री दाहालले सत्तामा रहेको एमाले र प्रमुख प्रतिपक्षीमा रहेको कांग्रेस दुवैलाई आफूले नचाइरहेको आशयको अभिव्यक्ति दिएर राजनीतिक वृत्तलाई तरंगित बनाएका थिए। उनले माओवादी केन्द्रसँग प्रतिनिधिसभामा ‘जादुयी नम्बर’ भएको टिप्पणीसमेत गरेका थिए। ‘हामीलाई हटाउन सजिलो छैन। इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनका कारणले र हाम्रो जादुयी नम्बरका कारणले पनि,’ दाहालले भनेका थिए।

दाहालले अगाडि भने, ‘जादुयी नम्बर ६ हाम्रो थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन। त्यो जादुले अनेक गरेर मिलाइहाल्छ ।’ दाहालको यही भनाइका कारण ठुला दल दबाबमा परेका छन्।

पछिल्लो पटक प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनकै एक घटक नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँग एमालेकै कारण अहिले सन्तुष्ट हुने ठाउँ नदेखिएको भन्दै गुनासो गर्ने गरेका थिए । त्यसको केही दिनमै देउवालाई भेटेका दाहालले ओलीको कार्यशैलीले आपूm आजित रहेको गुनासो गरेका थिए। त्यसले गर्दा ओली–दाहाल सम्बन्ध बिग्रेको हो कि भन्ने महसुस देउवालाई भएको थियो। तर दाहालको अस्थिर स्वभावका कारण देउवाले विश्वास गरिहाल्ने सम्भावना भने निकै कमजोर रहेको बताइन्छ।

लगत्तै शनिबार ओली र देउवाबीच भेटघाट भयो। भेटघाट पनि लामो समय भएकाले दाहाल सशंकित बनेका हुन्। ओली निवास बालकोटमा भएको दुई नेताबिचको छलफललाई लिएर सत्ता राजनीतिमा उथलपुथल हुन लागेको हो कि भन्ने प्रश्न उठेको छ। दुवै नेताले भेटघाटको विषय र कुराकानी बाहिर ल्याउन चाहेका छैनन्। देउवासँगको भेटघाटलाई लिएर ओली र दाहालबीच पनि कुराकानी भयो तर ओली खुल्न नसकेपछि शंका कायमै रहेको बताइन्छ। ‘ओली–देउवा भेटघाटले तत्कालै सत्ता समीकरण त फेरिँदैन, एउटा सत्यचाहिँ के हो भने च्याखे दाउ लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्नेमा दुवै सहमत हुनुहुन्छ,’ एमाले एक पदाधिकारीले भने।

कांग्रेसले दुई ठुला दलको सत्ता समीकरण बनाउने प्रयास गरिरहेको छ। कांग्रेसका नेताहरूले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सत्ताको काँध फेरेबाटै संसद्मा दुई ठुला दल मिल्नुपर्ने विषय उठान गरेका थिए। 

कांग्रेसको एउटा पक्षले संविधान संशोधनलगायत राष्ट्रिय मुद्दामा कांग्रेस–एमाले एकै ठाउँ उभिएकाले अहिले पनि त्यो परिस्थिति आउन सक्ने संकेत गरिरहेका छन् । २०८४ सालको निर्वाचनलाई लक्षित गरेर एमाले र कांग्रेस दुवैले कुनै पनि दलसँग समीकरण नगर्ने रणनीति बनाइरहेका छन्।  

प्रकाशित: १७ असार २०८१ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App