१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषि दशक मनाउँदैछौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन्।

भरतपुर महानगरले शनिबार चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको पनि प्रधानमन्त्री दाहालले बताए।

सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै उनले सिँचाइ, बीउ एवं मल सहज रुपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए।

यस्तै,प्रधानमन्त्री दाहालले धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान समेत गरेका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रवर्दन गर्ने र रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाएको बताए।

भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने बताइन्।

कृषकमैत्री कार्यक्रम कार्यान्वयन गरी उत्पादकत्व बढाउने उल्लेख गर्दै उनले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन आफू क्रियाशील रहेको बताइन्।-रासस

प्रकाशित: १५ असार २०८१ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App