१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कुवेतले नेपालबाट थप २ लाख कामदार लैजाने: परराष्ट्रमन्त्री

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेत सरकारले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन्।

मंगलबार एसियाको अप्रेसन डायलग (एसीडी) को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन्।

इरानको राजधानी तेहरानमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएको उनले सुनाए। उनका अनुसार कुवेतमा हाल एक लाख नेपाली कार्यरत छन् र अब साे संख्या तीन लाख पुर्‍याउने कुवेतको लक्ष्य रहेको छ।

कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा दूतावास खोल्ने जानकारी दिएको पनि उनले सुनाए।

परराष्ट्रमन्त्री श्रेष्ठले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्रमन्त्री, म्यानमारका उपप्रधान तथा विदेशमन्त्री, बहराइनका विदेश मन्त्री, कुवेतका विदेश राज्यमन्त्री, साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेशमन्त्रीसँग दुई पक्षीय भेटघाट गरेका थिए। भेटका क्रममा दुई देशबिच सहकार्य र हितका विषयमा समेत छलफल भएको बताए।

उनले रुसको उपविदेशमन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरु नेपालमा फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको सुनाए। साे क्रममा नेपाली नागरिक फिर्ता पठाउने विषयमा रुस सहमत भएपनि कार्यविधि बनाउन बाँकी रहेको रुसका उपविदेशमन्त्रीलाई उद्भिद गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले जनाए।

उनले नेपाली नागरिकहरु रुसी सेनामा सहभागी हुँदा युक्रेन युद्धमा ज्यान गुमेको र घाइते भएको कति नेपालीहरु रुसी सेनामा सहभागी भएको भन्ने यकिन तथ्यांक नभएको उल्लेख गरे।

युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सात जना नेपालीको क्षतिपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: ११ असार २०८१ २०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App