१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्मचारीको आन्दोलनले प्रतिनिधिसभा बैठक प्रभावित

फाइल तस्बिर

प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। संघीय संसद् सचिवालयका कर्मचारीको लगातारको आन्दोलनका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । अतिरिक्त समय काम गरेको पारिश्रमिक पाउनु पर्ने लगायत दर्जन माग अघि सार्दै सङ्घीय संसदका कर्मचारीहरू १२ दिनदेखि आन्दोलनमा छन्।  

उनीहरुको माग सम्बोधनको विधि तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्त्वमा समिति गठन भएको छ। गठित समितिमा मन्त्री गिरीसँगै संसद्का महासचिव पद्म प्रसाद पाण्डेय र अर्थसचिव मधु मरासिनीलाई जिम्मा दिइएको छ।

सरकारले आइतबारको प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची बनाएको छ । मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि ती विधेयकहरु पारितको कार्यसूची छ । 

कार्यसूचीमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सास महशुल सम्बन्धी विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  

प्रतिनिधि सभाबाट पारित भएपछि ती विधेयकमाथि राष्ट्रिय सभामा छलफल हुनेछ । राष्ट्रिय सभाले आवश्यक छलफलपछि पारित गरेर सुझावसहित पठाएका विधेयकहरु पुनः प्रतिनिधि सभाले पारित गरेपछि आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित हुनेछ । 

यद्यपि संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनले बजेट पारितको कार्यतालिका नै प्रभावित हुने सम्भावना बढेको छ । 

प्रकाशित: ९ असार २०८१ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App