१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सार्वजनिक ऋणले पाँच वर्षमा मुलुक ध्वस्त हुने बाटोमा पुग्छः सांसद घिमिरे

नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले सार्वजनिक ऋणले वित्तीय अवस्थामा मुलुक ध्वस्त हुने बाटोमा अग्रसर भएको बताएका छन्। आइतवार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद घिमिरेले यस्तो बताएका हुन्। 

उनले चालु खर्च मुलुकले धान्न नसक्ने गरी अत्याधिक रुप वृद्धि भएको र मुलुकमा यहीँ रुपमा चालु खर्च वृद्धि हुँदै जाँदा आगामी पाँच वर्षसम्म पनि टिक्न नसक्ने अवस्था देखिएको बताए। उनले सार्वजनिक वित्तीय खर्च अत्याधिक बढेर २४ खर्ब सार्वजनिक ऋण पुग्दा समेत आगामी आर्थिक वर्षमा अर्थमन्त्रीले ६ खर्ब ऋण थप्ने गरी सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ पुर्‍याउन लागिएको सुनाए।

उनले भने,‘आगामी आर्थिक वर्षमा अर्थमन्त्रीले ६ खर्ब ऋण थप्ने कुरा गर्नु भएको छ। यसरी नै ऋण थपिँदा ३० खर्ब रुपैया ऋण पुग्छ। सावा ब्याज भुक्तानी लगायतका वित्तीय व्यवस्थापन बढ्छ। त्यो आधारमा खर्च थपिदै जाँदा पाँच वर्ष भन्दा बढी मुलुक कसरी चलाउन सक्छौं। यसले मुलुक ध्वास्त हुने बाटोतिर अग्रसरता बढाउँदै छ। रणनीतिक सडकहरुमा एक वर्ष बजेट दिने अर्को वर्ष बजेट कट्टा गरी सडक पूर्ण नगर्ने प्रवृत्ति राम्रो भएको छैन। यो सरासर भ्रष्टाचार हो। कमला नदिन नियन्त्रणको नाममा राज्यको धन खेर नफाल्नुस्। कमला नदि नियन्त्रण कार्यालय र कर्मचारी राखेर राज्यको पैसा दुरुपयोग गर्न काम बाहेक अरु केही भएन। प्रतिपक्ष दलको सांसदले हालेको योजनामा बजेट नदिने प्रवृत्ति गलत भएको छ। बजेट विनियोजन गर्दा आयोजना पूर्णरुपमा सम्पन्न हुनेगरी हाल्न आग्रह छ।’

उनले सिन्धुलीको कमला नदी नियन्त्रणको नाममा राज्यको धन खेर फालिएरहेको बताए। नदी नियन्त्रणको लागि आवश्यक बजेट व्यवस्थापन गर्न नसक्ने भन्दै नदी नियन्त्रण कार्यालय खारेज गर्न सुझाव दिए। उनले कमला नदी नियन्त्रण कार्यालय र कर्मचारी राखेर राज्यको पैसा दुरुपयोग गर्ने काम बाहेक अरु केही नदेखिएको बताए।

प्रकाशित: २ असार २०८१ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App