१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

विश्वप्रकाशको प्रस्ताव: दृश्य बदलौं, बाढीपछि बैठक होइन उद्धारमा जुटौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मौसमजन्य विपदको ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री शर्माले विगतको दृश्य बदलेर बाढीपछि बैठक नभइ उद्धारमा जुट्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन्।

'बर्खाको समयमा हाम्रो देशमा तीनवटा वटा दृश्य देखिने गरेको छ । पहिलो - बाढी पहिरो, दोस्रो-आपतकालीन बैठकहरू, तेस्रो - दलहरूको वक्तव्य अनि संसदमा सांसदहरुको ध्यानाकर्षण,' महामन्त्री शर्माले भने, 'यसपालि दृश्य बदलौं ध्यानाकर्षणका लागि बाढी नकुरौं, बाढीपछि बैठक होइन, उद्दारमा जुटौं।'

गाउँमा कसैको घरमा आगो लाग्दा बैठक नगरेर पानी खोजेजस्तै व्यवहार बाढीपछि सरोकारवालाले देखाउनु पर्ने उनले बताए ।

जलवायु परिवर्तन,भौतिक विकासका लागि जंगलको विनास र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोगजस्ता कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित रहेको उल्लेख गर्दै महामन्त्री शर्माले भुगर्भविदहरुले औंल्याएका पहिरोको जोखिम वस्तीहरु स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने औल्याए ।

यस्तै विपद व्यवस्थापनमा स्थानीय तहको भुमिकालाई जोखिम न्यूनीकरण सम्बन्धि संशोधित ऐन, २०७५ बमोजिम व्यवस्थित गर्नुपर्ने र आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनास नियन्त्रण गर्नुपर्ने विषयमा पनि महामन्त्री शर्माले संसद्मार्फत सरोकारवाला र सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: ३१ जेष्ठ २०८१ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App