६ श्रावण २०८१ आइतबार
image/svg+xml
राजनीति

रइसीको मृत्युले इरानी राजनीतिमा हलचलः सत्तामा पुग्न हत्यादेखि बहिगर्मनसम्म

यतिबेला मध्यपूर्वस्थित मुलुक ईरानमा राजनीतिक हलचल सुरु भएको छ। राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ईरानको राजनीतिक माहोल निकै तातिएको छ। ईरानको राजनीतिक ईतिहासमा दोस्रो पटक कुनै राष्ट्र प्रमुखको मृत्यु सत्तामा रहुँदै भएको हो। यसअघि राष्ट्रपति मोहम्मद अली राजईको बम विस्फोटमा परी मृत्यु भएको थियो। सन् १९८१ अगस्ट ३० मा भएको विस्फोटमा परी राष्ट्रपति राजईसहित तत्कालीन प्रधानमन्त्री मोहम्मद जवाद बहनारको पनि मृत्यु भएको थियो।  

घटना आइतवारको हो, जब राष्ट्रपति रईसी विदेशमन्त्री हुसैन अब्दुल्लिाहियानसहित अजरबैजानबाट ईरान फर्किदै गर्दा उनी सवार हेलिकप्टर दुर्घटनाग्रस्त बन्यो। अजरबैजान जाने क्रममा राष्ट्रपति रईसीसँगै थप २ वटा हेलिकप्टर पनि गएको थियो, उनको सुरक्षार्थ। तर, ती दुबै हेलिकप्टर सुरक्षित ईरान फर्कियो। जबकी राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो। यहि विषयले कतिपयलाई चिन्तित बनाएको छ र, ईरानको राजनीतिलाई तताएको छ।

ईरानका सर्वोच्च नेता अयातुल्लाह खामनेईका उत्तराधिकारी मानिएका रईसीको मृत्युमाथि अब ईरान भित्र र बाहिर पनि राजनीति सुरु भएको छ। कतिपयले उनको मृत्युलाई शङ्काको दृष्टिले हेर्न थालेका छन् भने कपितयले यसलाई दुर्घटनाको रुपमा मात्रै लिइरहेका छन्। कारण, जुन अवस्थामा हेलिकप्टर दुर्घटनामा पर्यो त्यसमाथि प्रश्नहरू उठ्न थालेका छन्। केहीले हेलिकप्टर दुर्घटनामा इजराइलको संलग्नता रहेको बताइरहेको छ भने केहीले यसलाई सत्ता पछाडीको लडाई भन्न थालेका छन्। किनकी, रईसीको मृत्युले ईरानका केही व्यक्तिका लागि फाइदा हुने मानिएको छ।

ईरानको संवैधानिक व्यवस्था अनुसार कुनैपनि अवस्थामा राष्ट्रपतिको निधन वा मृत्यु भयो भने सर्वोच्च नेताको अनुमतिमा उपराष्ट्रपति, संसदका सभामुख र चिफ अफ जस्टिसको एक आयोग बनाइन्छ र ५० दिनभित्र राष्ट्रपतिको निर्वाचन गराउनु पर्ने हुन्छ। नयाँ राष्ट्रपति नियुक्त नभएसम्म उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने छन्। रईसीको मृत्यु पछि ईरानमा नयाँ राष्ट्रपतिको निर्वाचन आगामी जुन २८ मा हुने भएको छ। 

ईरानका राष्ट्रपतिभन्दा पनि त्यहाँका सर्वोच्च नेता सबैभन्दा बढी शक्तिशाली हुन्छन्। ईरानका वर्तमान सर्वोच्च नेता अलि खामनेईका नजिक मानिएका रईसीको मृत्यु पछि  राष्ट्रपतिका लागि विभिन्न नाम चर्चामा छन्। तर, सबैभन्दा ठूलो दावेदार मोहम्मद बागेर गालीबाफ मानिएका छन्। उनी हाल संसदका सभामुख हुन् भने अबको राष्ट्रपतिमा उनको नजर रहेको पनि चर्चा यसअघि हुँदै आएको थियो।

गालीबाफ २०१७ र २०२१ मा रईसीका कारण राष्ट्रपतिको रेसबाट बाहिरिएका थिए। २०१७ मा रईसीलाई हसन रुहानीले पराजित गरिदिएका थिए भने २०२१ मा रईसीलाई सर्वोच्च नेता खामनेईले समर्थन गर्दै राष्ट्रपतिमा निर्वाचित गराएका थिए। त्यसकारण २०२१ मा गालीबाफ राष्ट्रपतिको रेसबाट बाहिरीएका थिए। तर, २०२५ मा हुने राष्ट्रपति निर्वाचनमा उनी रईसीविरुद्ध निर्वाचन लड्ने निश्चित थियो।

यता, रईसीको मृत्युमा सर्वोच्च नेता खामनेईका छोराको संलग्नता हुन सक्ने पनि अनुमान गरिँदै छ। ८५ वर्षीय सर्वोच्च नेता खामनेई क्यान्सरले पीडित छन्। र, अब उनको उत्तराधिकारी पनि खोजी हुँदैछ। हालसम्म रईसीलाई खामनेईको उत्तराधिकारीको रुपमा लिइँदै थियो। रईसीलाई इस्लामिक रिभोलुसनरी गाड्र्स कप्सले पनि समर्थन गरिरहेका थिए। तर, रईसीको मृत्यु पछि खामनेईका छोरा मोजताबाको बाटो बनेको छ।

ईरानका एकजना पत्रकार मसीह अलीनेदाले आफ्नो एक्समा लेखेकी छन्, ‘विभिन्न अनुमानका बीच यस दुर्घटनामा खामनेईका छोराको हात हुन सक्छ। ताकी पिता पछिको उत्तराधिकारी बन्ने उनको बाटो प्रष्ट रहोस्।’

यता, रईसीको मृत्यु पछि अब ईरानमा सत्ताको लडाई सुरु हुने अनुमान पनि गरिएको छ। रईसीको मृत्यु पछि गालीबाफलाई अघिल्लो राष्ट्रपति बन्न सक्छन्। उनलाई राम्रो समर्थन पनि रहेको छ। त्यति मात्र होइन गालीबाफलाई जसले समर्थन गरिरहेका छन् उनले ईरानको अर्को सर्वोच्च नेताको रुपमा मोजताबाका लागि वकालत पनि गरिरहेका छन्। यस्तोमा दुबैबीच कुनै ठोस सम्झौता भएको हुन सक्ने पनि अनुमान गरिँदैछ।

गालीबाफ लामो समयदेखि राष्ट्रपति बन्न चाहन्छन् भने मोजताबा सर्वोच्च नेताको कुर्सीमा बस्न चाहन्छन्। यदि त्यसो भएमा ईरानमा फेरि एकपटक इतिहास दोहोरिन्छ। सन् १९८९ मा रुहोल्ला खामनेईको मृत्यु पछि अयातुल्लाह अलि खामनेई र मौलवी अकबर हासमी रफसन्जानीबीच सम्झौता भएको थियो। जसमा अयातुल्लाह सर्वोच्च नेता बने भने हासमी राष्ट्रपति बने। राष्ट्रपतिको शक्ति बढाउन संविधान पनि संशोधन गरियो।

तर, खामनेई झन् शक्तिशाली बन्दै जादा उनले आफ्ना प्रतिद्वन्द्वीलाई आफ्नो बाटोबाट हटाउन थाले। सन् २०१७ मा हासमीको मृत्यु भयो। जसलाई हालसम्म पनि आशङ्काको रुपमा लिइन्छ।

यी सबका बाबजुद ईरानको राजनीति निकै चाख लाग्दो छ। ईरानको सर्वोच्च नेता नै सबै थोक हुन्। त्यहाँको सर्वोच्च नेता पहिलो शक्तिशाली व्यक्ति हुन्छ भने दोस्रोमा राष्ट्रपति हुन्छ। जसको शक्ति निकै सिमित हुने गर्छ।

कुनै समय रईसीलाई खामनेई पछिको सर्वोच्च नेताको रुपमा लिन थालिएको थियो। तर, राष्ट्रपति बनेपछि उनको लोकप्रियता कम हुन थाल्यो। अब रईसीको मृत्यु पछि ईरानको भविष्य पनि तय हुने आँकलन गरिँदै छ। किनकी अब ईरानको राष्ट्रपति मात्रै चुनिँदै सर्वोच्च नेता खामनेई पछिको अर्को सर्वोच्च नेता को बन्छ त्यो पनि तय हुन्छ।

यी सबका बीच ईरानमा वास्तविक सत्ताको लडाई खामनेईको मृत्यु पछि सुरु हुने अनुमान गरिएको छ।  

ईरानमा इस्लामी क्रान्ति पछि शासकको हत्या, बहिर्गमन र पतन

इस्लामिक रिपब्लिक अफ ईरानको ४५ वर्षे इतिसाहमा वर्तमान सर्वोच्च नेता अली खामनेई बाहेक सबै राष्ट्राध्यक्षलाई कुनै न कुनै प्रकारको चुनौतीको सामना गर्नु परेको छ। सत्तामा रहँदै कसैको मृत्यु भयो भने कतिपयलाई रानजीतिक रुपले लक्षित गरियो। जबकी कतिपयलाई त दोहोर्याएर चुनाव लड्नबाट नै रोक लगाइयो।

१९७९ मा इस्लामी क्रान्ति पछि सरकारको पहिलो अस्थायी प्रधानमन्त्री मेहदी बजारगानलाई सुरुआतदेखि नै बढी शक्ति चाहिएको थियो। तर, सत्तामा रहँदा उनलाई तेहरानमा अमेरिकी दूतावासमाथि कब्जासहित विभिन्न अवरोधको सामना गर्नुपर्यो र अन्ततः उनलाई पदबाट राजीनामा दिनु पर्यो।

इस्लामिक रिपब्लिक अफ ईरानका पहिलो धर्मगुरु अयातुल्लाह रुहोल्लाह खÞुमैनीले देशको राष्ट्रपतिको रूपमा एक साधारण व्यक्ति अबुल हसन बनी सद्रलाई प्रत्याशी बनाए। र, उनले ७५% भन्दा बढी मत ल्याएर जित हासिल पनि गरे।

उनले इराकसँग युद्धमा सेनाको भूमिकामाथि जोड दिए। तर, इस्लामिक रिपब्लिक पार्टी आईआरजीसी (रिपब्लिकन गार्ड्स) लाई ठूलो भूमिका चाहिएको थियो। त्यस समय सुप्रीम लीडर खुमैनीले सद्रमाथि विश्वास गर्दै संविधान उल्लङ्घन गरेर सामान्य सुरक्षा बलको पनि जिम्मेवारी सुम्पि दिए। अबुल हसन बनी सद्र र ईरानी मजलिस (संसद) मा बहुमत रहेको इस्लामिक रिपब्लिक पार्टीबीच उत्पन्न सङ्घर्षका कारण बनी सद्रलाई बर्खास्त गरियो। उनीमाथि महाभियोग लगाउँदै देश निकाला नै गरियो।

सन् १९८९ मा अकबर हाशमी रफसन्जानी ईरानका राष्ट्रपति बने। उनको कार्यकालको शुरुआती चार वर्ष तनावपूर्ण रह्यो। हिजबुल्लाह जस्ता सङ्गठनले उनको सांस्कृतिक नीतिको विरोध गर्न थाल्यो।

सन् १९९३ मा सुरु भएको रफसन्जानीको दोस्रो कार्यकालमा अयातुल्ला खामेनेईले मुक्त बाजार नीतिको खुलेरै विरोध गरे। रफसन्जानीलाई खुमैनी पछि ईरानको सत्ताको सबैभन्दा  शक्तिशाली व्यक्ति मानिन्थ्यो। राजनीतिक उतारचढाव पछि ८ जनवरी २०१७ मा उनी स्वीमिङ्ग पुलमा मृत अवस्थामा फेला परेका थिए। जसलाई हालसम्म पनि आङ्काको रुपमा लिइन्छ।

हसन रूहानीले २०१३ मा राष्ट्रपति चुनाव जितेका थिए। उनलाई सबैभन्दा सुरक्षित राजनीतिक व्यक्रिको रुपमा मानिन्छ। ऋाफ्नो कार्यकालको शुरुआतदेखि नै रूहानीले सर्वोच्च नेता अली खामेनेईको विश्वास जित्ने प्रयास गरे। तर, अमेरिकासँग कुराकानीको प्रयास र ‘संयुक्त व्यापक कार्य योजना’ (जेसीपीओए) नामक एक सम्झौताको तयारी गरेको भन्दै खामनेईको तर्फबाट उनको आलोचना भयो।

हसन रूहानी र उनका नातेदारविरुद्ध विभिन्न आर्थिक अपराधको आरोप लगाइयो। र, अहिले उनी सत्तामा दोहोर्याएर आउन सक्ने अवस्था छैन।

नेपाललाई पर्दैन ईरानी राजनीतिक उथलपुथलको फरक

ईरानमा उत्पन्न राजनीतिक उथलपुथलले नेपाललाई खासै फरक नपर्ने जानकारहरू बताउँछन्। ईरानसँग नेपालको सिधा सम्बन्ध नभएका कारण नेपाललाई खासै फरक नपर्ने परराष्ट्र मामिलाका जानकार लोकराज बरालको भनाइ छ।

उनले भने, ‘ईरानबाट भारत हुँदै नेपाल आउने इन्धन हो। यदि ईरानमा राजनीतिक उथलपुथल भयो भने पनि त्यसको प्रत्यक्ष असर नेपाललाई पर्दैन। त्यसैले हामीले धेरै चासो दिनु आवश्यक छैन।’

उनले नेपालमा ईरानबाट सिधा सम्बन्ध र सम्पर्क नरहेका कारण चिन्ता गर्नु पर्दैन भन्दै भारतमा ईरानको राजनीतिले प्रभाव पारेमा नेपाललाई असर पर्न सक्ने उल्लेख गरे।

प्रकाशित: ९ जेष्ठ २०८१ १८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App