१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा मनोनीत डा.अञ्जान शाक्य को हुन् ?

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनलाई सरकारले गत चैत ३० गते राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

योसँगै ५९ सदस्य राष्ट्रिय सभाले पूर्णता पाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौडेलको कार्यकाल गत फागुन २० गते सकिएपछि उक्त पद खाली थियो। सोही स्थानमा अञ्जान शाक्य मनोनीत भएकी हुन्।

को हुन् शाक्य ?

डा.अञ्जान शाक्य सांगीतिक पृष्टभूमिकी हुन्। यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सधैं आफूभन्दा...भन्ने गीतबाट एकाएक चर्चामा आएकी उनी कुनै समय नेपाल टेलिभिजनमा समाचार वाचिका पनि थिइन्।

लामो समय गीतसंगीतमा रमाएकी अञ्जान पछिल्ला केही वर्षयता भने नेकपा (एमाले) सँग निकट रहेर राजनीतिमा सक्रिय देखिएकी छन्। एमालेका तत्कालिन प्रदेश सभा सदस्य अजयक्रान्ति शाक्यकी पत्नी उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासिलो पात्रका रुपमा चिनिन्छन्।

संखुवासभामा जन्मिएकी अञ्जान शाक्यलाई तत्कालिन प्रधानमन्त्री ओलीले जापानका लागि राजदूत बनाउने प्रयास पनि गरेका थिए। तर असफल भएपछि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक नियुक्त गरेका थिए। तर त्यहाँ मापदण्ड नपुगेको भन्दै उनले पूरा कार्यकाल काम गर्न भने पाइनन्। ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका समय सचिवालयमा सत्रिय उनी इजरायलका लागि राजदूत नियुक्त भइन्। तर राजनीतिक समीकरण फेरबदलले उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा सरकारले २०७८ सालमा फिर्ता बोलाएको थियो।

वागबजारमा रहेको पद्यमकन्या क्याम्पसमा २०५२ सालदेखि झण्डै एक दशक प्राध्यापन गरेकी अञ्जान शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी छन्। उनीसँग अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतमा रहेर काम गरेको अनुभव पनि छ। 

प्रकाशित: ६ वैशाख २०८१ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App