२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

थारू समुदायको रगतमाथि रेशम-रन्जिताको रमिता

तस्वीर: नाउपा संरक्षक रेशम चौधरी/ नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले एक महिनाअघि सत्ता गठबन्धन फेर्ने क्रममा भनेका थिए, ‘म नमर्दासम्म उथलपुथल भइरहन्छ।’ उनले कांग्रेससहितको सत्ता गठबन्धन फेरेर एमालेसँग लहसिँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा चाहिँ उनले भनेजस्तै उथलपुथल भएको छ।

नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा जन्मिएको विवाद नाउपाभित्र मात्र सीमित नरहही पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको घरसम्म पुगेको छ। उक्त विवादकै कारण सोमबार नेताहरूबीच कुटाकुटकै अवस्था सिर्जना भएके छ। पार्टी बैठकमै नेताहरू एकअर्काविरुद्ध हातपातमै  उत्रिए । कुटपिटपछि नाउपाकी अध्यक्ष रन्जिता र संरक्षक रेशमलाल चौधरी पक्षबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ।

अध्यक्ष रन्जिताले रेशमको नाम नलिई कुटपिटमा घटनामा संलग्न सबैलाई कारबाही गर्ने बताएकी छन्। रन्जिता पक्षले कुटपिटमा रेशम र उनीनिकट कार्यकर्ताको हात रहेको जनाएको छ। यता कुटपिटमा रन्जिता पक्षका कार्यकर्ताहरू जिम्मेवार रहेको पार्टी संरक्षक रेशमलाल चौधरी पक्षको भनाइ छ।

कुटपिटको घटनापछि प्रतिक्रिया दिँदै रन्जिताले यस विषयमा पार्टीले छानबिन गर्ने र त्यसमा संलग्न सबैलाई कारबाही गर्ने बताएकी हुन्। ‘कुटपिट भइरहेको बेला म बैठकमा थिइनँ। तर यस घटनाबारे छानबिन हुन्छ। घटनामा संलग्न सबैलाई कारबाही हुनेछ,’ उनले भनिन्, ‘कुटपिटमा पार्टीभित्रकै मान्छे संलग्न रहेको पाएका छौं।’

सोमबारको घटनापछि पनि पार्टीको आधिकारिक लाइन परिवर्तन नभएको उनले बताएकी छन्। ‘हाम्रो लाइन स्पष्ट छ। हामी अहिलेको सत्तारूढ गठबन्धनमा सहभागी छौं। सुदूरपश्चिम सरकारबाट भने बाहिरिने निर्णय हामीले गरिसकेका छौं,’ उनले भनिन्।

स्रोतका अनुसार सोमबार अनामनगरस्थित नाउपाको बैठक चलिरहेको बेला रेशमले रन्जितालाई इंगित गर्दै पार्टी अध्यक्ष अर्कै पक्षबाट परिचालित भएको र पार्टीको लाइनविपरीत गएको धारणा राखेका थिए। त्यसपछि रन्जिता पक्ष आक्रोशित भएको थियो। यस विषयमा विवाद बढ्दै जाँदा कुटपिटको अवस्था आएको स्रोतको दाबी छ।

पार्टी स्रोतका अनुसार रन्जिता पक्षका दुई कार्यकर्ता टीकापुर नगरपालिकका मेयर रामलाल डगौरा र रमेश विकमाथि रेशम पक्षधर कार्यकर्ता दीप तामाङ र राजन गुरुङले हातपात गरेका थिए। कुटपिट भइरहेको बेला बाहिरबाट चुकुल लगाई कसैलाई बाहिर जान नदिइएको आरोप रन्जिता पक्षको छ। पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरूमाथि ज्यान मार्नेसम्मको धम्की आएको दाबी गरेका छन्।

‘सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुन सक्छ’ भनेर पार्टी संरक्षक रेशमले धम्की दिएको उनको भनाइ छ। ‘सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या पनि हुन सक्छ भनेको हुनाले ममाथि भौतिक आक्रमण भएको छ। त्यसैले यस घटनालाई मैले सामान्य रूपमा लिएको छैन,’ उनले भने।

आफूलाई केन्द्रीय कार्यालयका सबै ढोका थुनेर कुटपिट गरिएको उनले बताए। कुटपिटमा संलग्न सबै जना नयाँ व्यक्ति भएको उनले बताए। उनीहरू कहाँबाट कसरी बैठकमा आए भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको उनले सुनाए।

पुरानो गठबन्धन भत्किएर नयाँ बनेपछि रेशम र रन्जिताको विवाद उत्कर्षमा पुगेको हो। रेशम अहिलेको गठबन्धनमा सहभागी नहुने अडानमा छन्। गठबन्धनबाट बाहिर निस्केर प्रतिपक्षको भूमिका निभाउन उनले लबिङ गरिरहेका छन्। रन्जिता भने अहिलेकै गठबन्धनमा सहभागी हुने पक्षमा छिन्। उनले भनिन्, ‘यो गठबन्धनमा हामी सहभागी भएका छौं। हामी गठबन्धनमै छौं।’

यसैगरी सुदूरपश्चिम सरकारको विषयमा पनि रेशम र रन्जिताबीच विवाद छ। नेपाली कांग्रेसले नेतृत्व गरेको सुदूरपश्चिम सरकारबाट बाहिरिन रन्जिताले ह्विप नै जारी गरेकी छन् भने रेशमले सुदूरपश्चिम सरकारबाट पार्टी बाहिरिन नहुने बताउँदै आएका छन्। रन्जिता र रेशम पक्षबीचको विवादले पार्टीका नेता–कार्यकर्ता दुई भागमा बाँडिएका छन्। एकथरी रेशम र अर्कोथरी रन्जिताको पक्षमा उभिएका छन्।

रेशमका पिता लालवीर चौधरीले भने रेशमलाई सक्रिय साथ दिएका छन्। लालवीर प्रतिनिधिसभा सदस्य पनि हुन्। यता रेशमले घरकै मान्छेले कुरा नबुझेको भन्दै रन्जितामाथि व्यंग्य गरेका छन्। उनले भनेका छन्, ‘मैले तीन महिनादेखि खाना खाएको छैन। एकदुई चम्चा खाने गरेको छु। आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेको छु।’ यही चैत २३ र २४ गते बस्ने बैठकले पार्टीभित्र छानीछानी कारबाही गर्ने र पार्टीभित्र शुद्धीकरणको अभियानचलाउने उनले बताए।  

प्रकाशित: २० चैत्र २०८० ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App