१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अर्थतन्त्र धानेका श्रमिकलाई विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्नुस्: गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन्।

उनले आज बिहान कालिकास्थान स्थित अध्यागमन विभागको ब्रिफिङमा यस्तो निर्देशन दिएका हुन। ‘रेमिटेन्स पठाएर अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नु पर्छ’, उनले भने।

गृहमन्त्री लामिछानेले ती श्रमिकलाई सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गरेका हुन।

उनले विदेशीका लागि अध्यागमन देशको मुहार रहेको उल्लेख गर्दै भने, ‘मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईँका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ।’

गृहमन्त्री लामिछानेले केही खराब मान्छेका कारण धेरै इमानदारले दोष पाउने गरेको उल्लेख गर्दै भने, ‘खराबलाई बेलैमा चिनेर इमानदारलाई प्रोत्साहित गर्नुपर्छ।’

उनले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने पनि बताए। ‘जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधन सम्पन्न बनाउन केही चुनौती छन्। तर, प्रयास जारी राख्नुपर्छ’,लामिछानेले भने।

उनले हिजोका घटनामा आफूले कसैलाई दोषारोपण गर्न नचाहेको उल्लेख गर्दै भने, ‘ भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न। दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला।’

ब्रिफिङ कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन आग्रह गरेका थिए।  ‘प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्नु होला’, उनले भने।

त्यस्तै, विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए। 

प्रकाशित: १३ चैत्र २०८० १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App