१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजदूत ए.नोभिकोभले भन्छन्: रूसी सेनामा भर्ना भएका नेपालीहरू फर्कन चाहँदैनन्

नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभले रूसी सेनामा भर्ना भएका नेपालीहरू फर्कन नचाहेको बताएका छन्।

बुधबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनले उक्त कुरा बताएका हुन् ।

मन्त्री पुनले द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए। पुनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत त्यसबारे रुसी सरकारलाई जानकारी गराएको स्मरण गरे। उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरे।

यस्तै उनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराए। ‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेकै छ। तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्’, यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ। म यहाँमार्फत रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु।’

जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट गरे। तर, रुसले पनि उनीहरुलाई बोलाएर भर्ती नगरेको तर्क उनको थियो। भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे। यद्यपि रुसी सेनामा कार्यरत नेपाली मारिएकामा आफूहरू दुःखी भएको उनले बताए। रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको दाबी उनले गरे।

‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन्। स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौँ।’ उनले सञ्चार माध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउन आग्रह गरे। फरक प्रसङ्गमा उनले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई दिए। ‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरूसँग साटेर भए पनि नेपालीहरूलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ’, राजदूत नोभिकोभले भने। यस्तै उनले अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने सुझावसमेत दिए।

प्रकाशित: ७ चैत्र २०८० १९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App