१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

महराको राजनीतिक अवसान

सिआइबीमा दिएको बयान

नेकपा माओवादी केन्द्रभित्र शक्तिशाली मानिने नेता कृष्णबहादुर महराको दोस्रो पटक हिरासत यात्रा तय भएको छ। पार्टी उपाध्यक्ष रहेका उनी पूर्वसभामुख पनि हुन्। करिब चार वर्षअघि संसद् सचिवालयमा कार्यरत एक महिलालाई दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका उनी अहिले सुन तस्करीको आरोपमा फेरि हिरासत पुगेका छन्।

२०७६ असोजदेखि ओरालो लागेको महराको राजनीतिक यात्रालाई सुन तस्करी प्रकरणले झनै अधोगतितिर धकेलेको छ। सुरुमा २०७६ भदौ १८ गते एक चिनियाँ नागरिकसँग ५० करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।

सुन तस्करी प्रकरणसम्म आइपुग्दा राजनीतिक र सामाजिक रूपमा उनको ओज स्वत्तै घटेको छ। २०४८ सालमै संसदीय दलको नेता बनेका महरा २०५२ मा तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेपछि  पार्टीको पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य भएका थिए।

२०५३ सालमा पार्टी केन्द्रीय सदस्य र २०५५ मा पोलिटब्युरो सदस्य हुँदै सरकार–माओवादी वार्तामा सहभागी भई त्यसलाई टुंगोमा पु¥याउने नेताका रूपमा समेत परिचित छन्। २०६१ सालमा तत्कालीन नेकपा माओवादीका पार्टी प्रवक्ता रहेका उनी २०६२ सालमा स्थायी समिति सदस्य बनेका थिए।

सशस्त्र द्वन्द्व शान्तिपूर्ण मार्गमा नआउँदै अर्थात् २०५८ सालमा नेकपा माओवादीले महरालाई तत्कालीन सरकारसँग वार्ता गर्न गठन गरेको टोलीको संयोजक बनाइएको थियो। सरकारसँग वार्ताकै लागि २०६० सालमा गठित दोस्रो वार्ता टोलीमा पनि उनी सदस्य तथा प्रवक्ता बनाइए।

 त्यसैगरी २०६३ सालमा तत्कालीन सरकारसँग वार्ताका लागि गठित अन्तिम वार्ता टोलीको संयोजक पनि महरालाई नै बनाइएको थियो।

पार्टीमा यति धेरै शक्ति आर्जन गरेका र पार्टीको विश्वास जितेका महरा अन्ततः सुन तस्करीको आरोपमा प्रहरी अनुसन्धानका लागि हिरासतमै पुगेका हुन्।

यसअघि प्रहरीले पक्रान खोज्दा आफूनिकट मात्र नभएर विश्वासपात्रसमेत रहेका महरालाई प्रधानमन्त्री पुष्पकमल दाहालले रोके पनि यसपटक त्यसो गर्न सकेनन्। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर मुद्दा चलाउन सिफारिस गरेको छ। उनलाई काठमाडौं जिल्ला अदालतले सुन चोरी पैठारी संगठित अपराध अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार बिहान काठमाडौंबाट कपिलवस्तु पुगेका महरालाई त्यहीबाट नियन्त्रणमा लिई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं ल्याई उनीमाथि अनुसन्धान सुरु गरेको हो।

जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा महरामाथि अनुसन्धान गरेर ‘पूरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने सिआइबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए। ‘सुन ल्याउने समूहमा रहेका दुई चिनियाँ नागरिकसँग कृष्णबहादुर महरा र राहुल महराको पनि सम्पर्क भएको देखिन्छ।

दुवैको सम्पर्क मुक्तिप्रसाद श्रेष्ठसँग रहेको, निजहरूको सम्पर्क सुन बेचबिखन गर्ने समूहका मानिस र अन्य प्रतिवादीहरूसँग रहेको देखिन आएकोमा निजहरू फरकफरक समूहमा रही आआफ्नो आपराधिक जिम्मेवारीबमोजिम सम्पर्क स्थापित गरी नेपाल सरकारको गोदाममा रहेका दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा रहेका ७३० थान इलेक्ट्रिक सिगरेट बेची संगठित रूपमा आपराधिक विश्वासघात गरेको स्पष्ट हुन्छ,’ यसअघि सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ।

२०७९ पुस १० मा चिनियाँ नागरिक ली हाङसोङले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन ल्याएका हुन्। हाङसोङले दुबईबाट ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले छुटाउन भूमिका खेलेका थिए।

महराले तत्कालीन भन्सार प्रमुख अरूण पोखरेललाई आफ्नो र छोराको मोबाइल नम्बरबाट पटकपटक सम्पर्क गरी सुन छुटाउने प्रयास गरेका थिए। छोरा निर्मलका नाममा रहेको मोबाइलबाट महराले तस्करीमा संलग्न भई हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेका थिए।

सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको देखिएको छ। त्यहीबेला महराका अर्का छोरा राहुलसँग २८ पटक सम्पर्क भएको देखिएको थियो। राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १३१ पटक सम्पर्क गरेको देखिएको थियो।

अर्का चिनियाँ तस्करलाई राहुलले तीनपटक सम्पर्क गरेका थिए। यस्तै दाओजिन पौडेललाई ३६ पटक सम्पर्क गरेको देखिएको थियो। यसबाहेक प्रहरीले महरा बाबुछोराले गिरोहका विभिन्न व्यक्तिसँग २५६ पटक संवाद गरेको भन्दै ‘लिंक चार्ट’ सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

साथै त्यतिबेला जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनअनुसार सुन तस्करीको विवरण कागज, अनुसन्धानका क्रममा खुल्न आएको ९ केजी ११.५२४ ग्राम सुनको बजार मूल्य ८ करोड ५५ लाख २८ हजार ३७४ रहेको भन्ने काठमाडौं सुनचाँदी व्यवसायी संघको पत्र र कल डिटेल रेकर्ड संलग्न थियो।

महराका बारेमा प्रहरीको पूरक अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले उनीविरुद्ध अदालतमा पूरक अभियोगपत्र दायर गर्न सक्ने कानुनी व्यवस्था छ। इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेको घटनामा महरा बाबुछोराकै ‘कनेक्सन’ देखिएको थियो। छोरा राहुल महरा भने सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। कसैको दबाब र प्रभाव नभए महरामाथि प्रहरीले ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्नेछ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दिएको सुझावअनुसार महरालाई भेप प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ। यसअघि प्रहरीले उनलाई छुट दिएको थियो।

भेपमार्फत आएको सुनमा महरा बाबुछोराको संलग्नता देखिएपछि तत्कालीन सिआइबी प्रमुख किरण बज्राचार्यले पक्राउ गरी अनुसन्धान गर्न खोज्दा उनीमाथि राजनीतिक दबाब परेको थियो। ‘गत जेठमै राहुललाई पक्राउ गर्न खोजेका थियौं, त्यसपछि कृष्णबहादुर महरालाई पक्राउ गर्न खोजियो तर हामीलाई अवरोध गरियो,’ त्यतिबेला भेपमार्फत आएको सुनको अनुसन्धान गरिरहेका एक अधिकारीले भने।

चिनियाँ तस्कर दावाजिन वाङले पूर्वसभामुख महराको साथ लिएका थिए। भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन्। सुन ल्याउने समूहका आसिन, दाओजिन र ली हनसङ तीनैजना फरार छन्। दाओजिन भने अहिले चीनमा रहेको प्रहरी स्रोतको दाबी छ।

महरा र उनका छोराले अनावश्यक चासो राखेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरूण पोखरेलले त्यसबारे अनुसन्धान गर्न सिआइबीमा उजुरी दिएका थिए। महरा डिल्लीबजार जेलमा रहेका बेला पोखरेल जेल प्रमुख थिए। त्यही क्रममा उनीहरूको चिनजान भएको थियो। त्यही आधारमा महराले भन्सार प्रमुख पोखरेललाई पटकपटक फोन गरेका थिए।

दाओजिनसँग सामान्य विषयमा कुराकानी हुने गर्थ्याे

मिति २०७९/०९/१० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजे ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसङले दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ल्याएका ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जफत भएको थियो। त्यसपछि दाओजिन वाङले उक्त सामान भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझिदिनुपर्‍यो भनी मलाई भनेका थिए।

मैले त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई पहिलेदेखि चिनेको हुनाले के कसो भएको हो, कानुनबमोजिम के गर्न मिल्छ हेरिदिनुहोला भनी फोन गरेको हुँ। मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको रहेछ, कानुनबमोजिम मिल्ने भए सहयोग गरिदिनू भनी अरूण पोखरेलको सम्पर्कमा गएका हुन्।

दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीका रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए र उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्थ्याे। यसबाहेक उनीसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन।

प्रकाशित: ६ चैत्र २०८० ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App