१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

श्रीमान् र श्रीमती बिचको विवादले सुदूरपश्चिम सरकार सङ्कटमा

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरी बिचको विवादले सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ।

पति पत्नी बिचको विवादले नागरिक उन्मुक्ति पार्टीका सांसदहरू नै विभाजित हुँदा सुदूरपश्चिम प्रदेशमा सरकारलाई बहुमत पुगाउन सकस भएको छ।

टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम  र रञ्जीता बिचको विवाद सरकारको समर्थन फिर्ता लिने वा नलिने विषयमा उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष रञ्जीताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिनु भनी निर्देशन दिएका बेला रेशमले शुक्रवार मध्यरात ३ जनालाई शाहकै सरकारमा शपथ खुवाए। पछिल्लो यो घटनापछि सुदूरपश्चिमको सत्ता धरमराउन थालेको हो।

रेशम पक्षका दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी भए भने रञ्जीता पक्षका कैलाश चौधरी राज्यमन्त्रीबाट पनि हटाइए। नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका पूर्व नेता लक्ष्मण किशोर चौधरी र  कैलाश चौधरी रञ्जीता पक्षधर मानिन्छन्।

रेशम चौधरी केन्द्रमा प्रतिपक्षमा बस्ने र प्रदेशमा कमलबहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थन यथावत् राख्ने पक्षमा र रञ्जीता श्रेष्ठ चौधरी नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने विषयमा रस्साकस्सी चलेको छ। सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य छन्।

यस अघि प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका र नेकपा एसका मन्त्रीहरूलाई मुख्यमन्त्री शाहले हटाएका थिए भने ती दुई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। अहिले प्रदेश सरकार अल्पमतमा परेको छ। विश्वासको मत दिने मध्ये २६ सांसदको मात्र समर्थन बाँकी छ। बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक छ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।

प्रकाशित: २७ फाल्गुन २०८० १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App