१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा एकभन्दा बढी उम्मेदवार, गठबन्धनमा दरार 'निश्चित'

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका स‌भावित उम्मेदवार कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका संभावित उम्मेदवारहरु उर्मिला अर्याल वा झक्कु सूवेदी (बाँयाबाट)

राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार खडा गरे सत्ता गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ।

नेपाली कांग्रेसले यसअघि नै कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिसकेकाले ऊ पनि पछि हट्ने अवस्था देखिदैन्।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवारको स्थायी कमिटीबाटै आफ्नो उम्मेदवार उठाउने निर्णय गराएर कांग्रेससँग अझ बार्गेनिङ गर्ने रणनीति लिएको स्रोत बताउँछ।

स्थायी कमिटी बैठकमा कोसी प्रदेशमा कांग्रेसले असहयोग गरेका कारण राष्ट्रियसभा निर्वाचनमा आफ्नो दलका उम्मेदवारको हार भएको कुरा पनि उठाइएको थियो। कांग्रेसले राष्ट्रियसभा अध्यक्षको निर्वाचनकेन्द्रित भएर तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न दाहाललाई अनुमति दिएको छैन। माओवादीका नेताहरूले बैठकमा सत्ता गठबन्धनभित्र कांग्रेसले पेलेको आरोप पनि लगाएका थिए।

अहिले राष्ट्रियसभामा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा एकीकृत समाजवादी चौथो ठुला दल हुन्। माओवादी भने नेकपा एस र अन्य दलको सहयोगमा राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीकै उम्मेदवार खडा गर्ने तयारीमा छ।

माओवादीले उर्मिला अर्याल वा झक्कु सुवेदीमध्ये एकलाई उम्मेदवार बनाउने तयारी थालेको छ। ‘माओवादीले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार दिएमा सत्ता गठबन्धनभित्र दरार आउने निश्चित छ,’ गठबन्धन दलका एक नेताले भने।

पछिल्लो समय माओवादी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि निकटता बढाइरहेका छन्। उनले ओलीसँग गोप्य भेट गरी वामपन्थीहरूको सहकार्यलाई जोड दिएको बताइएको छ।

जानकार स्रोतका अनुसार बालुवाटारस्थित एक व्यापारीको घरमा ओलीसँग भेट भएपछि माओवादी अध्यक्ष दाहालले राष्ट्रियसभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिनेगरी तयारी गरेको स्रोतको दाबी छ। कांग्रेस महासमिति बैठकपछि माओवादीले एमालेको साथ खोजिरहेको छ।

राष्ट्रियसभाको आगामी निर्वाचनमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधवार भनेका थिए, ‘यो कार्यनीतिक विषय हो, रणनीतिक होइन। तत्कालीन अवस्थाले सबै कुरा निर्धारण गर्छ तर हाम्रो पार्टीले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न तयारी थाल्नेछ।’  

माओवादी केन्द्रले अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपछि २०७९ फागुनमा बनेको कांग्रेस, माओवादीसहित निर्वाचनअघिको गठबन्धन फेरि संकटमा पर्ने आशंका गर्न थालिएको छ। गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता साझेदार दलबीच चुनावी तालमेल भएको थियो।

सोही क्रममा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी गठबन्धन दलहरूले उम्मेदवार बनाएका थिए। कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सिटौला सत्ता गठबन्धनकै समर्थनमा अध्यक्ष हुनेमा आश्वस्तजस्तै छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन चाहन्थे। तर राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढ्दै गएको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ।

माओवादीका नेताहरूले पूर्वसहमति अनुसार सरकारको नेतृत्व छाड्दा आफ्नो दलको संवैधानिक परिषद्मा कुनै प्रतिनिधित्व नहुने भएकाले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने तर्क गर्दै आएका बेला स्थायी कमिटीले त्यसमा बल पुग्नेगरी निर्णय गरेको हो। यसले कांग्रेस र माओवादीबीचको दुरी बढाउने आशंका उत्पन्न भएको छ।

सत्ता गठबन्धन टुटाउन प्रमुख प्रतिपक्षी एमाले सक्रिय छ। यस्तो अवस्थामा राष्ट्रपति निर्वाचनका बेला जोडिएको गठबन्धन राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा आइपुग्दा टुट्ने त होइन भन्ने आशंका गर्न थालिएको छ।

एमालेसहितका दलहरूको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका दाहालले फागुन १० गते उक्त गठबन्धन औपचारिक रूपमा तोडेका थिए। त्यसपछि उनी निर्वाचनअघिको कांग्रेस नेतृत्वको गठबन्धनमा फर्केका थिए। सोही गठबन्धनको समर्थनमा दाहाल अहिले सरकारको नेतृत्वमा छन्।

प्रकाशित: १७ फाल्गुन २०८० १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App