१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार जवाफबाट पन्छिदा संसद्मा बबन्डर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका प्रतिपक्ष दलहरूले गत ६ गतेदेखि उठाइएको विषयमा सरकारले समयमा जवाफ नदिँदा संसद्मा बबन्डर मच्चिरहेको छ। प्रतिपक्ष दलहरूले संसद् सञ्चालनमा पटक–पटक अवरोध गरिरहेका छन्।

प्रतिपक्ष सांसदहरूले सभामुख देवराज घिमिरेले प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई तीन–तीन पटक रुलिङ गर्दा समेत जवाफ नआएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सरकारको जवाफ नआएसम्म संसद् सञ्चालन गर्न नदिने अडान राखेका छन्।

प्रतिपक्ष दलहरूले आफूले उठाएका प्रश्नहरूको जवाफ नआएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिएपछि सभामुख घिमिरेले सोमबार पनि १५ मिनेटका लाई बैठक स्थगित गरेका छन्। विशेष गरी नेकपा एमालेका सांसदहरूले बैठकको सुरु भए देखिनै आ–आफ्नो स्थानमा बसेर नाराबाजी गरेपछि सभामुख घिमिरे बैठक स्थगित गर्न बाध्य भएका छन्।

प्रतिपक्ष दलहरूले बालकुमारी घटनाको प्रतिवेदन कार्यान्वयन किन नगरेको र घटनाका दोषीहरूलाई बर्खास्त किन नगरेको भनेर प्रश्न गरिरहेका छन्। यो बाहेक दुग्ध किसानहरूले दूध बेचेको रकम नपाएको र त्यो रकम तत्काल भुक्तानी गर्न मागिरहेको छ। यसैगरी मिटर ब्याजी पीडितहरूलाई न्याय दिन किन ढिलाइ भइरहेको छ भन्ने त्यसको जवाफ पनि मागिरहेका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सोमबार प्रतिनिधिसभा बैठकमा भने, ‘दिन बित्यो, रात बित्यो हप्ता बित्यो तर सरकारले जवाफ दिएन। सरकारको कानमा कसैले रुवा हालिदिएको छ कि विपक्षी दलहरूले उठाएको कुराहरू नजरअन्दाज गरेर बसिरहेको छ ?’

उनले सरकारलाई सबै प्रश्नको जवाफ दिन प्रतिपक्ष दलहरूले शङ्का, लाभ र सुविधा दिइसकेको भएपनि सरकारले निरन्तर नजरअन्दाज गरेको बताए। ‘सरकारको नाममा रुलिङ चाहिन्छ हामी चुप लागेर बस्दैनौ,  प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ’, बाँस्कोटाले भने। उनले बालकुमारी घटनाका दोषी मानिएका मन्त्रीहरूलाई कुनै पनि हालतमा हटाउन प्रधानमन्त्री समक्ष माग राखे।

‘कि उहाँहरूले राजीनामा दिनुपर्‍यो कि प्रधानमन्त्रीले ती मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्‍यो’, उनले भने। बाँस्कोटाले प्रधानमन्त्रीले कुराको सुन्दरता मात्र व्यक्ति गरेको तर ‘एक्सन’ र जवाफ नदिएको टिप्पणी गरे। उनले कृषकका समस्या, मिटर ब्याजी पीडितका समस्या, गुठीका समस्या तत्काल सम्बोधन हुनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यीलगायत संसद्मा उठेका अन्य विषयहरूमा जवाफ दिन सभामुख घिमिरेले तीन–तीन पटक सरकारका नाममा रुलिङ गर्दा पनि सरकारबाट किन जवाफ आउन नसकेको भन्दै प्रश्न राखे। उनले सरकारले समयमा प्रतिपक्षका प्रश्नहरूको जवाफ नदिएर संसद् र सांसदहरूको समय खेर गइरहेको तर्क गरे। सबै मागहरूको यथाशक्य सुनवाइका लागि सरकारसँग माग गरे।

‘सरकारलाई जवाफ दिन के ले रोकेको छरु जवाफ दिन सक्ने यथेष्ट आधार छन् भने सार्वभौम सांसदमा भन्न केले रोकेको छरु’, लामिछानेले प्रश्न गरेका थिए। ‘संसद्मा आउने दिनदिनै राजीनामा देऊ, मन्त्री हटाऊ भनेर जनताले पठाएका होइनन् महोदय, सभामुखको पटक–पटकको रुलिङ सरकारले किन नमानेको हो ?’, उनले प्रश्न थपे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अबको बैठकसम्ममा सरकारले सबै समस्या समाधानबारे ठोस जवाफ र निष्कर्ष नदिए संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिए।

‘सरकार सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जस्तै गरी  बसिरहेको छ। सरकारले अब यसरी टुलुटुलु हेरेर बस्न सक्दैन। यो तीन वटा विषयमा ठोस सम्बोधन गरेन भने अबको बैठकमा राप्रपाले संसद् अवरोध गर्छ’, उनले भने। 

प्रकाशित: १४ फाल्गुन २०८० १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App