१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

‘कांग्रेस तीनै तहमा पहिलो हुनुमा गठबन्धनको महत्त्वपूर्ण योगदान’ (पूर्णपाठ)

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी तीन वटै तहमा पहिलो दलका रूपमा स्थापित हुनुमा गठबन्धनको महत्त्वपूर्ण योगदान गरेको बताएका छन्।

उनले सोमबारबाट सुरु भएको महासमितिको बैठकमा मंगलबार प्रस्तुत गरेको ‘समसामयिक राजनैतिक प्रस्ताव’ मा भनेका छन्, ‘०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस तीनवटै तहमा पहिलो दलका रूपमा स्थापित हुनुमा गठबन्धनको महत्त्वपूर्ण योगदान रह्यो।’

प्रतिवेदनअनुसार स्थानीय निर्वाचनमा ७५३ पालिकामध्ये १८८ गाउँपालिका अध्यक्ष र १४१ नगर/उपमहानगर र महानगर प्रमुख सहित ३२९ पालिकाको नेतृत्वमा कांग्रेस उम्मेदवार विजयी भए। 

प्रमुखतर्फ करिब ४४ प्रतिशत हो यो। त्यस्तै ७५३ उपप्रमुख मध्ये नेपाली कांग्रेसका उम्मेदवार ३०० स्थानमा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) विजयी भएका थिए। जुन कुल स्थानको ४०% हुन आउँदछ। 

यसैगरी प्रतिनिधिसभातर्फ २७५ मध्ये प्रत्यक्षमा ५७ क्षेत्र र समानुपातिकमा ३२ सिट गरेर ८९ स्थानमा कांग्रेस विजयी बन्यो भने ५५० सिट रहेको प्रदेशसभामा प्रत्यक्षतर्फ १११ र समानुपातिकतर्फ ६४ गरी १७५ सिटमा जित हासिल गर्‍यो।

तिनवटै तहमा काँग्रेसको पहिलो स्थान जनताको विश्वास, पार्टी पङ्क्तिको मेहनत र गठबन्धनका सहयात्रीहरूको जोडबलले थियो भन्ने तथ्य हामीले बिर्सन मिल्दैन।

यति भन्दै गर्दा महामन्त्री शर्माले ०७९ को निर्वाचनमा गरिएको गठबन्धन क्रममा र परिणाम पश्चात् उब्जिएको केही प्रश्नमा दुई सूक्ष्म आत्म चिन्तन भने महासमितिमा हामीले गर्नैपर्ने बताएका छन्। 

‘गठबन्धन मार्फत पहिलो दल त बन्यौँ, तर समानुपातिकतर्फ ०७४ को तुलनामा हामीले करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण के हो ? पहिचान र निदानको प्रश्न यथावत् छ’, उनले भनेका छन्।

महामन्त्री शर्माले निर्वाचन आउनुभन्दा ४ वर्ष अघिनै निर्वाचनबारे छलफल गर्नु यद्यपि आवश्यक विषय नभएको उल्लेख गर्दै लेखेका छन्, ‘त्यसैले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर हामी जानेछौँ ? या तिनवटै तहको सम्पूर्ण स्थानमा कांग्रेस उम्मेदवार खडा गर्नेछौँ। यो विषयमा हामी भित्र रहेका स्वाभाविक दुई थरी मतलाई सुरक्षित राखेर उपयुक्त समयमा हामी उपयुक्त निर्णयमा पुग्नेछौँ नै।’

तर उनले अहिलेको गठबन्धनलाई आगतको सम्झौता नभएको उल्लेख गरेका छन्। ‘विगतले बोकाएको अभिभारा हो। अतः त्यसमा निरन्तरता चाहँदा हामी बिच अलमल या अस्पष्टता होइन सुस्पस्ट प्रतिबद्धता जरुरी हुन्छ’, उनी भन्छन्।

महामन्त्री शर्माका अनुसार ०७९ को निर्वाचनपछि पुस १० गते अनपेक्षित रूपमा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दै गर्दा पुन ‘ट्र्याक’ मा फर्कियो। यसले के स्पष्ट गर्दछ भने गठबन्धनप्रति हामी सबै दल प्रतिबद्ध थियौँ र छौँ पनि तर कतिपय विषयमा द्वन्द्व या असावधानी हुँदा यो जोखिममा पर्‍यो।

संयम र परिपक्वताको मार्गबाट गठबन्धन पुन ब्युँतियो। फेरि पनि जोखिमको अवस्था आउन नदिन ठुलो दल भएका नाताले विशेष सतर्कता र सजग जिम्मेवारी हामीले प्रस्तुत गर्न जरुरी छ। एकल बहुमत कसैको पनि नभएको संसद्मा गठबन्धनलाई कायम राखेरनै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा हाम्रो छ।

उनले कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले हामीप्रति असन्तोष प्रकट गरेको स्थिति रहेको र यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी भएको औँल्याएका छन्।

‘संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो त्यसले कांग्रेस भित्रनै द्वन्द्व सृजना भएको थियो। 

माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ। 

गठबन्धनको सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन’, उनले लेखेका छन्, ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौँ, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौँ। केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य सङ्कटमा पर्नेछ। अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने हो। गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्काइमा हुनुहुन्न। पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हुन्छ । नेपाली कांग्रेस समग्र परिस्थितिको संयम समीक्षा गरेर आवेगमुक्त ढङ्गले चल्ने विषयमा संस्थागत रूपले स्पष्ट छ।’

 

प्रकाशित: ८ फाल्गुन २०८० १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App