२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेसको महासमिति बैठक आजदेखि, यस्ता छन् ४ दिनसम्म चल्ने बैठकका अजेन्डा

नेपाली काँग्रेसको महासमिति बैठक आजदेखि सुरू हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने बैठकको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने छन्।

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता। स्वतन्त्रता, न्याय र समानता नेपाली काँग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने बताइएको छ।

यस्तै बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

प्रस्तुत भएका प्रस्तावहरूमा चारवटा समूह बनाएर छलफल हुने प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए। 

उनका अनुसार चार समूह हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुनेगरी बनाइने छ।

महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिने तय भएको पनि उनले बताए।

काँग्रेसले केन्द्रीय समितिबाट निर्णय गरेर महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन पाउँछन्।

महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्नेछ। महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन गरेको छैन।

प्रकाशित: ७ फाल्गुन २०८० ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App