२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपाले कर्णालीमा ३ महिने विशेष अभियान सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको आइतवार बसेको सचिवालयको बैठकले कर्णाली प्रदेशको हालको पार्टी सङ्गठनका गतिविधिका बारेमा गहन समीक्षा गर्दै ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता डा.मुकुल ढकालले कर्णाली क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षकासाथ कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी ३ महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको बताए।

उनले अभियानमा संसदमा कर्णालीका मुद्दाहरूलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी सङ्गठनका गतिविधि एवं कार्यक्रमहरूलाई व्यापक रुपमा अगाडि बढाउने निर्णय गरिएको पनि जानकारी दिए।

यस्तै पार्टीको विभिन्न केन्द्रीय विभागमा निम्न सदस्यहरू मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको छ।

पवन देवकोटालाई केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुख, ज्ञानेन्द्र महतारालाई केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्य, भोजराज क्वालिटी केन्द्रीय विधेयक मन्थन विभागको सदस्य, गणेश पौडेललाई केन्द्रीय मानव अधिकार विभागको सदस्य, दिपक विश्वकर्मा केन्द्रीय सङ्गठन विभागको सदस्यको जिम्मेवारी दिइएको छ।

बालीनाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रण सम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सांसद पठाउने भन्ने सम्बन्धमा रास्वपाको तर्फबाट अध्ययन भ्रमणमा सांसदको सट्टामा सम्बन्धित विज्ञलाई पठाउँदा उपयुक्त हुने देखिएकोले विज्ञ पठाउन अनुरोध गर्ने निर्णय गरिएको पनि पनि प्रवक्ता ढकालले बताए।

साथै पार्टीको आन्तरिक कार्य सञ्चालनका लागि आवश्यक अन्य निर्णयहरू पनि भएको उनले बताए।

प्रकाशित: ७ फाल्गुन २०८० ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App